मनाङमा ४ महिनामा ८ हजार पर्यटक

मनाङमा ४ महिनामा ८ हजार पर्यटक

विकास टाइम्स
0
Shares

मनाङ ।

हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को चार महिनामा पाँच हजार ५६ पुरुष र तीन हजार एक सय ६३ महिलाले अन्नपूर्ण पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए । सन् २०२३ को जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश पाएको तथ्याङ्क छ ।

कोभिड–१९ को सङ्क्रमणपश्चात सहज बनेपछि अहिले विश्वभरबाट पर्यटक नेपाल आउने क्रम जारी छ । नेपाल भित्रिने क्रममा उनीहरु विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा अउने गरेका छन् । पदयात्राका लागि विदेशी पर्यटक विशेषगरी आउने गरेको एक्यापका प्रमुख गौतमले बताउनुभयो । जनवरीमा सबैभन्दा बढी दक्षिण कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्याङ्कमा उल्लेख छ । अहिले वर्षात्को समय भएकाले पदमार्गको यात्रा गर्दा सम्भाव्य जोखिमका बारेमा जानकारी गराएर पठाउने गरिएको उनले बताए ।

“पर्यटक एक्लै जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजीकार्य गर्न समस्या भएपछि सरकारले पथप्रदर्शकबिना यात्रामा जान रोक लगाएको छ, अहिले पथप्रदर्शक लिएर मात्रै पर्यटक आउने गरेका छन्”, गौतमले भने । पथप्रदर्शक भएपछि सूचना पाउन सहज भएको उनको भनाइ छ ।

यात्राका क्रममा पर्यटक बिरामी परेको खण्डमा पथप्रदर्शकको सहयोग हुने हुँदा सहज भएको पर्यटक बताउँछन् । पर्यटकको आवागमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायीमा खुसी छाएको छ । पर्यटक वृद्धि हुँदा उनीहरुको आयस्तरसमेत वृद्धि हुने छ । पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरताको अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ तथा पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा पर्छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दीसित जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सडकमार्ग त्यसपछि पदमार्गमार्फत पर्यटकले मनाङका विभिन्न स्थानको अवलोकन गर्छन् ।