बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

विकास टाइम्स
0
Shares

पर्वत । सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकूलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अनुदान दिने भएको छ ।

गाउँपालिकामै सञ्चालित बाली विज्ञान पढ्ने विद्यार्थीका लागि वार्षिक ३६ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । मंगलबार बसेको गाउँपालिकाको बैठकले जलजला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी आधारभूत तह कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा ग्रामप्रकाश मावि जलजला–५ लेकफाँटमा प्राविधिक धारतर्फ (बाली विज्ञान) विषयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै उक्त सुविधा दिने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।

प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न गाउँपालिकाले यो अवधारणा ल्याएको अध्यक्ष आचार्यले बताए । ‘यो सहयोग आवासीयरूपमा अध्ययन गर्न चाहने विद्यार्थीले सम्बन्धित विद्यालयको सिफारिसमा प्रतिविद्यार्थीलाई वार्षिक ३६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ,’ अध्यक्ष आचार्यले भने ।

नेपाल कृषिप्रधान देश भए पनि कृषि क्षेत्रको विकास हुन नसकेको अवस्थामा यस विद्यालयमा सुरु भएको कृषि प्राविधिक विषयको अध्ययनले दक्ष र योग्य प्राविधिक उत्पादन गरी कृषि क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास लिएको गाउँपालिकाको भनाइ छ ।

सरकारको एक पालिकाका एक प्राविधिक विद्यालयअन्तर्गत कक्षा ९ देखि १२ सम्म जलजला–५ लेकफाँटको ग्रामप्रकाश माविमा उक्त विषयमा पठनपाठन हुने भएको हो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कृषि प्राविधिक विषय अध्ययनका लागि हालैमात्र स्वीकृत प्राप्त भएको र यही शैक्षिकसत्रदेखि पठनपाठन सुरु हुन लागेको विद्यालयका प्रधानाध्यापक भवानीशंकर पौडेलले जानकारी दिए ।

अहिले विद्यालयमा कक्षा ८ उत्तीर्ण गरी ९ मा गएका ३९ विद्यार्थी कृषि विषय लिएर पढ्न चाहेको र अन्यत्रबाट पनि कृषि प्राविधिक पढ्न इच्छुक विद्यार्थी आउने सम्भावना रहेको उनले बताए ।

कृषि प्राविधिक अध्ययनका लागि पालिकाका अन्य विद्यालयका विद्यार्थीलाई पनि सोही विद्यालयमा अध्ययन गर्न प्रेरित गरी भविष्यमा सीपयुक्त दक्ष र योग्य जनशक्ति उत्पादनमा जोड दिएको उनले बताए । २०१५ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।