खानेपानीकाे राजधानीमै पानीकाे हाहाकार !

खानेपानीकाे राजधानीमै पानीकाे हाहाकार !

विकास टाइम्स
36
Shares

काठमाडौँ ।

काठमाडाैँ उपत्यकामा पानीकाे समस्या नयाँ हाेइन । वर्षाैँदेखि काकाकुल काठमाडाैँलाई आस देखाउने मेलम्चीकाे पानी यतिबेला काठमाडाैँका केही क्षेत्रका उपभाेक्ताले प्रयाेग गर्न पाएका छन् ।

तर, त्यही मेलम्चीको पानी ल्याएर प्रशोधन गरिने ठाउँ सुन्दरीजलमा भने खानेपानीको समस्या हुन थालेको छ । सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बने पनि यस क्षेत्रकै धारामा पानी आउन छाडेपछि स्थानीयबासी चिन्तित बनेका हुन् ।

राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव भएपछि स्थानीयबासी पानी खोज्न टाढाटाढा जान बाध्य भएका छन् । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका-१ बाट २७.५ किमी सुरुङको दुरी पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका-१ महांकालमा प्रशोधन हुन्छ ।

दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयबासी भने सुख्खा मौसममा काकाकुल बन्न थालेका हुन् ।

सुन्दरीजलबाट बाग्मती नदीको करिब ९ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाकाे समयमा भने यहाँको बाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा लगिन्छ ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा २ नगरपालिकाका अधिकांशले मेलम्चीको त परै जाओस्, पहिलेदेखि राजधानीमा वितरण गरिने बाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् ।

खानेपानीको समस्या भएपछि यहाँका स्थानीयबसी परम्परागत ढुंगेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । कागेश्वरी मनोहरा-२ आलापोटका स्थानीयबासी श्याम धिमाल खानेपानी खोज्दैमा दिन जाने गरेको गुनासो गर्छन् ।

स्थानीयबासी पानी खोज्न जाने धारामा धेरै मानिस खानेपानीका लागि लाम बस्ने गरेकाले घन्टाैँ कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ । यस्तो समस्या भोग्ने धिमालमात्र होइन, यहाँका हजारौँको समस्या हो ।

आधारभूत खानेपानी सेवा विस्तार गर्ने विषयलाई यहाँका नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले १ कार्यकाल पूरा गर्दा पनि समस्या भने समाधान हुन सकेको छैन ।

संविधानमा पनि खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा स्थापित गरिएको छ । तर, कार्यान्वयन भने हुन नसकेको पीडितको गुनासो छ ।

राजधानीमा मेलम्चीको पानी तेस्रोपटक आएको ५ महिना पूरा भइसकेकाे छ । तर पनि बाग्मतीको मुहान क्षेत्र र मेलम्चीको पानी प्रशोधन भएर वितरणका लागि लगिने स्थलका मानिसले पानी नपाएर तड्पिनुपरेको गोकर्णेश्वर नगरपालिका-१ पाथीभराका मंगलबहादुर तामाङको गुनासो छ ।

स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रूपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट वञ्चित हुनुपरेको उनले सुनाए ।

विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानबासीले नै खानेपानी नपाए मेलम्चीको पानी बाग्मतीमा बगाउने धम्की दिने गरे पनि खानेपानीको समस्या समाधान हुन सकेको छैन ।

गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरबासीले दुःख पाएको स्वीकार्छन् ।

जनप्रतिनिधि र पीडित स्थानीयबासी लिमिटेडमा गएर कुरा राख्दा १५ दिनमा बाग्मतीको पानी गोकर्णेश्वर क्षेत्रमा दिने सहमति भए पनि पानी नआएको जानकारी पनि उनले दिए ।

धेरै नगरबासी वडा कार्यालय र नगरपालिकामा पटकपटक खानेपानीका लागि धर्नामा बस्ने गरेका छन् । पानी नपाएर स्थानीयबासी धर्नामा बसे पनि धारामा भने पानी आउँदैन ।

जनताकै घर आँगनमै पुगेको स्थानीय सरकारको ध्यान आधारभूत विषयमा भन्दा पनि अन्यत्र जाँदा जनजीविकाको यो महत्वपूर्ण समस्या समाधान नभएको हो ।

नगर क्षेत्रमा खानेपानी समस्या समाधान गर्न नसकेको गोकर्णेश्वर नगरपालिकाले देशव्यापी गजल महोत्सव गरेर समय र स्रोत सकाएको गुनासो पनि स्थानीयबासीले गरेका छन् ।

संविधानले तोकेको क्षेत्राधिकारभन्दा बाहिर गएर विगत ३ वर्षदेखि देशव्यापी साहित्यिक प्रतियोगिता गर्दै आएको नगरपालिका खानेपानी समस्या समाधान गर्न भने नलागेको स्थानीय पासाङ तामाङले बताए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाश राई मुहान क्षेत्रमा पानीको अभाव रहेको बताउँछन् । बाग्मतीबाट वितरणका लागि ल्याइएको पाइप पुरानो भएकाले चुहावट हुने गरेको र मेलम्चीको पानी सुन्दरीजलबाट ठुलो पाइपमा ल्याएर महांकाल चौरबाट मात्र वितरण हुने गरेकाले त्यस क्षेत्रमा पानीका अभाव भएको उनले जानकारी दिए ।

त्यस क्षेत्रमा खानेपानी समस्या समाधानका लागि योजना बनिरहेकाले केही समयमा समस्या समाधान हुने केयुकेएलले जनाएको छ ।