फेरिँदै राेल्पाकाे मुहार, खरकाे छानाे हटाएर जस्ता हालिँदै

फेरिँदै राेल्पाकाे मुहार, खरकाे छानाे हटाएर जस्ता हालिँदै

विकास टाइम्स
33
Shares

फाइल तस्बिर

रोल्पा ।

रोल्पाका ३ हजारभन्दा बढी घरमा खरको छानाे हटाएर जस्तापाता लगाइएको छ ।

जिल्लाका ३ हजार १६९ घरधुरीमा जस्तापाता राखिएको हो । यसका लागि संघीय र स्थानीय सरकारले १५ करोड ६७ लाख १३ हजार रुपैयाँ खर्च गरिसकेका छन् । खरको छानो हटाएसँगै वर्षात्को समयमा पानी चुहिने र सुख्खा मैसममा आगलागी हुने समस्याबाट मुक्त भएका छन् ।

रोल्पा नगरपालिकामा १ हजार २३८ वटा घरमा फुसको छाना भएकामा हालसम्म ६७८ घरको छाना फेरिएको छ । नागरिक सुरक्षित आवास कार्यक्रमबाट २३२ र फुसको छाना विस्थापित कार्यक्रमबाट ४४६ घरको छाना फेरिएको हो ।

५६० घरमा फुसको छाना फेर्न बाँकी रहेको रोल्पा नगरपालिकाका योजना अधिकृत सुशील थापाले बताए । यस कार्यक्रमका लागि संघीय सरकार र नगरपालिकाको ३ करोड १२ लाख रुपैयाँ खर्च भइसकेको छ । संघीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम र स्थानीय सरकारको फुसको छानो विस्थापन कार्यक्रम सुरु भएपछि जिल्लाका विपन्न समुदायका धेरैलाई राहत पुगेको छ ।

रुन्टीगढी गाउँपालिकाले फुसको छाना हटाइएको छ । यहाँका फुसको छाना भएका १ हजार ६३१ घरमध्ये हालसम्म १ हजार १२ घरधुरीको छाना फेरिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए । सो गाउँपालिकामा यस शीर्षकमा संघीय सरकार र स्थानीय तहको ५ करोड ६ लाख रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ ।

त्रिवेणी गाउँपालिकामा टिनको छाना लगाउन छनोट भएका ५१४ मध्ये ३८८ घरको छाना फेरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसका लागि उसले संघीय सरकार र स्थानीय सरकारको १ करोड ९४ लाख खर्च गरेको छ । परिवर्तन गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत २०० घर छनोट भएका थिए । उसले छनोट भएकामध्ये १६४ घरको छाना फेर्न ५१ लख ९३ हजार दिइसकेको छ ।

गंगादेव गाउँपालिकामा ४४८ घरको छाना फेर्ने कार्यक्रम छ । सो गाउँपालिकाले यस काममा १ करोड ६८ लाख रुपैयाँ खर्च गरिसकेको छ भने चालु आर्थिक वर्षका लागि समेत ५६ लाख बजेट विनियोजन गरेको छ ।

सुनिल स्मृति गाउँपालिकाले हालसम्म ४०१ घरमा फुसको छानाकाे साटो टिनको छाना लगाएको छ । संघीय सरकारको सहयोगमा २३६ घर र गाउँपालिकाको कार्यक्रमअन्तर्गत १६५ घरमा टिनको छाना हालिएको हो ।

लुंग्री गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत ७० घरमा टिनको छाना लगाएको छ । छनोट भएका ११० घरमध्ये ७० घरमा टिनको छाना लगाइसकिएको छ । बाँकी घरमा पनि टिनको छाना लगाउन सहयोग गर्ने गाउँपालिकाले बताएको छ । थवाङ गाउँपालिकाले नागरिक सुरक्षित आवासअन्तर्गत काठको छानाका सट्टामा टिनको छाना लगाउन छनोट भएका १२१ घरमध्ये ५७ घरको छाना फेरिएको छ ।

फुसको छानाको घरमा पटक–पटक आगलागीको समस्या भोग्ने गरेका थिए । २–३ वर्षको अन्तरालमा छाना फेरिरहनुपर्ने समस्याका साथै पानी चुहिने समस्यासमेत भोग्दै आएका रोल्पालीको अहिले एकैपटक सबै समस्या हल भएको छ ।

रोल्पामा खर तथा काठले घर छाउने चलन पुरानो हो । थवाङ, सुनछहरी र परिवर्तन गाउँपालिकाका केही वडामा काठले छाना छाउने गर्छन् भने अन्य पालिकामा खरले छाउने गर्छन् । सम्पन्न व्यक्तिले स्लेटढुंगा र टिनले छाउँछन् । खर र काठले छाएका घरमा पानी चुहिने, आगलागी हुने डर हुने गरेको थियो । रासस