‘बूढानीलकण्ठ तरकारी बजार’को भवन निर्माण तीव्रता

‘बूढानीलकण्ठ तरकारी बजार’को भवन निर्माण तीव्रता

विकास टाइम्स
18
Shares

काठमाडाैँ ।

बूढानीलकण्ठ नगरपालिकाले तरकारी बजारको लागि भवन निर्माणको काममा तीव्रता दिएको छ । बूढानीलकण्ठ –२ स्थित नौलिनस्थानमा स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माणको कामलाई जोड दिएको हो ।

स्थानीयलाई आत्मनिर्भर गराउन र स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्न नगरले योजना अघि सारेको नगर प्रमुख मीठाराम अधिकारीको भनाइ छ ।

उनले भने, ‘नगरभित्रका उत्पादनलाई हामीले जोड दिएर कृषकलाई आत्मनिर्भर गराउने मुख्य लक्ष्य हो । सोहीअनुरुप हामीले तरकारी बजारको कामलाई ध्यान दिएका छौँ । स्थानीय कृषकलाई थप सहजीकरण होस् भनेर पनि हामीले ध्यान दिएका छौँ । यस बजारको प्राथमिकतामा स्थानीय कृषक नै रहनुहुनेछ ।’

नगर प्रमुख अधिकारीले नगरभित्रका कृषकलाई बजारीकरणको समस्या नहोस् र उत्पादनको सही मूल्य यहाँबाट कृषकहरू आफैँले प्राप्त गर्नुहोस् भनेर योजना अघि बढाएको बताए। नगरपालिका योजना शाखा प्रमुख महेश पाठकले बूढानीलकण्ठ तरकारी बजारको भवन निर्माण गर्न ९ करोड रुपैयाँ लागतमा ठेक्का लागेर काम धमाधम भएको जानकारी दिए ।

उनले तरकारी बजारको भवन निर्माण मात्र नभएर बहुवर्षे योजनामा तरकारी भण्डारणका लागि समेत नगरको योजना रहेको बताए ।

नगर उपप्रमुख अनिता लामाले नगरपालिकाभित्रका स्थानीय तथा घरेलु कृषिलाई बजारीकरण गर्दै कृषकलाई आत्मनिर्भर गराउन तरकारी बजारको योजना अघि सारेको बताइन् ।

उनले भनिन्, ‘हामीले बूढानीलकण्ठ नगरपालिकाभित्रका कृषि उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्दै आएका छौँ । आगामी दिनमा पनि हामीले कृषक लक्षित कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनेछौँ ।’

नगरले यसअघि कृषि मेला गरेर स्थानीय कृषक तथा स्थानीय उत्पादनको प्रदर्शन गरेको थियो । आगामी वर्षको आधार तयार गर्न र आगामी आवमा कस्ता खालका कृषिलाई प्रोत्साहन गर्ने भन्ने विषयमा थप अध्ययन गर्न कार्यक्रम आयोजना गरिएको उपप्रमुख लामाको भनाइ छ ।