खरिद ऐन मिचेर ठेक्का लगाउँदै खानेपानी डिभिजन धादिङ, हाकिमदेखि सप्लायरसम्मको मिलेमतो

खरिद ऐन मिचेर ठेक्का लगाउँदै खानेपानी डिभिजन धादिङ, हाकिमदेखि सप्लायरसम्मको मिलेमतो

विकास टाइम्स
144
Shares

काठमाडौं– खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङले खरिद ऐन मिचेर ठेक्का लगाएको खुलेको छ । बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयअन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङले सार्वजनिक खरिद ऐन मिचेर ठेक्का दिएको हो ।

कार्यालय प्रमुख विजयकुमार यादवले धादिङ अन्र्तगतका विभिन्न ५ वटा खानेपानी आयोजनाहरुको एचडीपीई पाइप, जीआइ पाइप र फिटिङ सप्लाई कार्यका लागि गत २०७९ फागुन ८ गते गुपचुप रुपमा सुचना निकालेका थिए ।

सार्वजनिक निकायले खरिद प्रक्रियाको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने हुन्छ । त्यतिमात्र होइन, ठेक्का लगाउनुपूर्व र ठेक्काका सम्पूर्ण विवरण विद्युत्तीय प्रणालीबाट गर्नुपर्ने व्यवस्था सार्वजनिक खरिद ऐनमा गरिएको छ । तर, उक्त कार्यालयले भने ठेक्का लगाउने सूचना न राजपत्रमा प्रकाशित गर्यो, न विद्युत्तीय माध्यमबाट नै खरिद प्रक्रियाबाट ठेक्का लगायो ।

कार्यालयले लाखौंका ठेक्का सार्वजनिक खरिद ऐन मिचेर मिलेमतोमा दिएको स्पष्ट हुन्छ । उक्त कार्यालयले भने सो व्यवस्था लत्याउँदै मिलेमतोमा लाखौंका ठेक्का लगाएर अनियमितता गरेको देखिन्छ । कुल २ करोड ५३ लाख २६ हजार रुपैयाँ बराबरका ५ वटा खानेपानीका ठेक्का खरिद ऐन विपरित निकालिएको हो । ती आयोजनाहरु धादिङ र नुवाकोटका हुन ।

No description available.

सार्वजनिक खरिद ऐनले सार्वजनिक निकायले खरिद कार्यको कुनै वा सवै प्रक्रियामा विद्युत्तीय कार्यविधि प्रणाली मात्र अपनाउन सक्ने व्यवस्था गरेको छ । तर, उक्त कार्यालयले भने खरिद कार्य विद्युत्तिय प्रणालीबाट गरेको देखिदैन् ।
यतिसम्म कि उक्त कार्यालयले ठेक्का स्वीकृत गरेर भुक्तानी दिने बेलासम्म पनि खरिदको विवरण तथा सूचना आफ्नो आधिकारीक वेवसाइटमा राखेको छैन् । न, ठेक्काको सूचना नै निकालेको थियो ।

यसअघि कार्यालयले ठेक्का लगाउँदा विद्यूत्तीय माध्यमबाट अनलाइन बिडिङ गर्ने गथ्र्यो । कार्यालय प्रमुखमा विजयकुमार यादव आएसँगै लगाइएको ठेक्काको सूचना गोप्य रुपमा ‘हार्डकपी’ कार्यालयको सूचना पार्टीका मात्र टाँसे । पछि, मिलेमतो गरेर कमिसन आउने सप्लायर्सलाई नै ठेक्का दिएर अनियमतिता गरेको खुलेको हो । हार्डकपीका रुपमा कार्यालयले सूचना जारी गरेका आधारमा सप्लायर्सहरुले कार्यालयमा गएर आवेदन फर्म शुल्क ३ हजार बुझाएर ठेक्काको आवेदन दिएका थिए ।

No description available.

No description available.

हाम्रो सम्पर्कमा आएका एक आपूर्तिकताले पनि आफुले मिलेमतोमा रकम पाएको बताए । लक्ष्मी सप्लायर्सका सञ्चालक शुशिल केसीले रितपूर्वक आफुले ठेक्काको लागि निवेदन दिए पनि ठेक्का नपाएको बताए । उनले अर्को कम्पनीले निश्चित रकम दिएपछि चित्त बुझाएको बताए ।

उनले खानेपानी कार्यालय धादिङका कार्यालय प्रमुखले खरिद ऐन मिचेर मिलमतोमा ठेक्का दिइ अनियमतिता गरेको बताए । ‘ठेक्का लागेको अहिले २/३ महिना जति भयो । मैले पनि एउटा प्याकेजको काम किन्न पाउने थिएँ । मैले पनि खानेपानीको सप्लायरसम्वन्धी काम गर्छु ।’ उनले भने, ‘मिलेमतो गरेर एउटा ठेकेदारले ठेक्का लियो, मलाई निश्चित रकम दियो । म पनि चुप लागेर बसेको हो ।’

खरिद ऐन विपरित किन यस्तो गरेको भनेर कार्यालय प्रमुखसँग आफुले गुनासो गरे पनि सबै कुरा मिलाएर गरेको जवाफ दिएको उनले बताए । यता, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङका प्रमुख विजयकुमार यादवले भने ६० लाखसम्मको योजनाका लागि ‘हार्डकपी’ गर्न पाइने बताए । यसमा कुनै मिलेमतो नभएको उनको दाबी छ । ‘यो सबै मैले बुझेर नै गर्या हो । ६० लाखसम्मको ठेक्कालाई विद्युत्तीय माध्यमबाट बिडिङ गरिरहनु पर्दैन’ उनले भने, ‘हामीले राष्ट्रिक पत्रिकामा सूचना दिएर नै गरेको हो । कुनै मिलेमतो गरिएको छैन ।’