गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : बनेको १ वर्षसम्म उडेनन् जहाज

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : बनेको १ वर्षसम्म उडेनन् जहाज

विकास टाइम्स
60
Shares

लुम्बिनी ।

काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले ६० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउँछन्– नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा ।

होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठुला व्यावसायिक प्रतिष्ठानका साथै अन्य व्यवसायमा पनि यहाँ अर्बौँको लगानी भएको उनी बताउँछन् ।

अध्यक्ष शर्मा भन्छन्, ‘विमानस्थल सञ्चालनमा आएपछि यसका कारणले मात्र दैनिक करिब २० हजार व्यक्तिको चहलपहल र चाप हुने हाम्रो आकलन थियो । यसको ठुलो आशाले यो क्षेत्र व्यावसायिक हब बनिसकेको पनि छ,’ शर्माले भने, ‘तर पनि अहिले हामीले सोचेजस्तो गरी विमानस्थल सञ्चालनमा आउन सकेन । यसले त हामीलाई निराशा मात्र दिएको छ । यति धेरै लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दो छ । तर, हामी उद्योगी व्यवसायीसँग अन्य कुनै विकल्प नै छैन ।’

तर, निजी क्षेत्र तथा यहाँका नागरिकको यो आशा र खुसी वर्ष दिन पनि टिकेन । आज विमानस्थल सञ्चालनमा आएको वर्ष दिन पुगेको छ । तर, देशको अर्थतन्त्रको कम्तीमा पनि ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रकै तर्फबाट यस्ता निराशा व्यक्त गर्नुपर्ने अवस्था आएको छ ।

विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । यहाँ जहाज उडेका छैनन् । आक्कलझुक्कल विमान उडाएको अल जजिराले पनि अहिले उडान रोक्ने सन्देश दिइरहेको छ ।

ऋणमा बनेको विमानस्थल सञ्चालनमा सरकारले पैरवी नगरेको गुनासो शर्माले गरे । विमानस्थलमा निर्माणका लागि लगानी गरेको एडिबीले सम्भाव्यता अध्ययन नगरी लगानी गरेको होला भन्ने कल्पना त गर्न सकिँदैन । तर, किन लगानीअनुसार यो विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिएको छैन भन्ने कुरा बडो अन्योलपूर्ण रहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘एयर रुटको कुरा, भारतीय अवरोधका कुरा सबै मिथ्या हल्ला मात्र हुन् । यस विषयमा बुझेर मात्र एडिबीले लगानी गरेको भन्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ,’ शर्माले भने, ‘नेपाल सरकारले यसमा अग्रणी भूमिका निर्वाह गरेर यो समस्यालाई साम्य गर्नुपर्छ । विमानस्थल सञ्चालन गर्नुको विकल्प छैन, हामीले सरकारसँग गर्ने माग पनि यही हो ।’

अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा उनले भारतसँग दह्रो रूपमा कुरा उठाउन र यसलाई सञ्चालनमा ल्याउन ठोस पहल चाल्न सुझाव दिए । उनले भने, ‘मेरो यो सुझाव छ कि प्रधानमन्त्रीज्यूले आफ्नो भारत भ्रमण नै यही विमानस्थलबाट गर्नुहोस् र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने अभियान थाल्नुहोस् ।’

अर्बौँको लगानी जोखिममा

विमानस्थल निर्माणसँगै भैरहवा तथा आसपास क्षेत्रमा तारे होटल खुल्ने क्रम बढ्यो । विमानस्थललाई नै लक्षित गरी भैरहवा, लुम्बिनीलगायत क्षेत्रमा साना–ठुला गरी १४६ वटा होटल सञ्चालनमा छन् । यिनीहरूमा करिब ३० अर्ब रुपैयाँ लगानी भएको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् । यसबाहेक २० अर्बभन्दा बढीका २१ वटा होटल अहिले पनि निर्माणाधीन रहेको उनको भनाइ छ ।

‘विमानस्थललाई नै लक्षित गरी गरिएको अर्बौँको लगानी अहिले विमानस्थल सञ्चालनमा नआउँदा डुब्ने खतरा बढेको छ,’ श्रेष्ठले भने, ‘व्यवसायीहरूमा बैैंकको ब्याज तिर्न नसकेर तनाव बढ्दै गएको छ । कतिपय त पलायन हुने अवस्था आएको छ ।’

उनले विमानस्थल सञ्चालनका लागि क्षेत्रीय स्तरमा भन्दा पनि राज्य स्तरबाट पहल नभएको गुनासो गरे । ‘सबै ठीक छ, विमानस्थल पनि तयार छ । विदेशी विमानभन्दा पनि आफ्नै देशका विमानले पत्याउनुपर्‍यो,’ उनले भने ।

उनले पूर्वी एसियामा रहेका बौद्ध देशहरूबाट पर्यटक ल्याउने गरी सरकारले पहल गर्न आवश्यक रहेको औँल्याए । ‘हामीले पटक–पटक सम्बन्धित निकाय नागरिक उड्डयन प्राधिकरण, नेपाल सरकारसँग यी सब कुरा उठाएका हुन्छौँ,’ उनले भने, ‘तर, के–कति कारणले सञ्चालनमा आउन सकेको छैन, हामीले बुझेका छैनौँ ।’

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई मार्गबाट यहाँ आउने पर्यटकका लागि केन्द्रमा राखेर बुटवलमा अर्बौँको लगानीमा दुइटा केबलकार निर्माणाधीन अवस्थामा छन् ।

बुटवलबाट पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुर पुग्ने केबलकार अब सञ्चालनको अन्तिम तयारीमा छ । कम्पनीले ३ अर्ब ५२ करोड रुपैयाँ लागत अनुमान गरिएको केबलकार ३ किलोमिटर लम्बाइको हुनेछ । केबलकारको बुटवल–३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ ।

रुट होइन समस्या

विमानस्थल प्रमुख हंशराज पाण्डेका अनुसार बाहिर हल्ला भएजस्तो रुटकै समस्याको कारण विदेशी विमान नआएको सत्य होइन । विमानलाई काठमाडौँभन्दा भैरहवाको विमानस्थलमा अवतरण गर्न सहज र कम खर्चिलो हुने पाण्डेको भनाइ छ ।

‘सिमराबाट छिरेका विमानलाई काठमाडौँ जानुभन्दा सहज भैरहवा आउन हुन्छ । दुरीका दृष्टिले केही टाढा रहे पनि काठमाडौँजस्तो अवरोध यहाँ छैन,’ पाण्डेले भने, ‘आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ, यहाँ त्यस्तो कुनै समस्या छैन ।’

लिमा–६२६ हुँदै बाहिर उड्ने विमानलाई भैरहवाबाट उड्दा पनि दुरी छोट्टिने उनको भनाइ छ । ‘यो कुरा पाइलटले पनि बुझेका हुन्छन्, त्यसकारण रुटकै कारण विमानस्थल नचलेको निराधार हल्ला हो,’ पाण्डेले भने । उनले लिमा–६२६ लाई दुईतर्फी गर्न सके यसले भैरहवा विमानस्थललाई थप सहज बनाउने बताए ।

भैरहवा आउने अन्तर्राष्ट्रिय विमानलाई भैरहवामाथिकै रुट दिए पनि विमानलाई तोकिएको उचाइकै कारण अवतरणका लागि आकाशमा फन्को लगाउनुपर्ने र यसले पनि उत्तिकै खर्च बढाउने पाण्डेको तर्क छ ।

विमानस्थलको सुविधा १ वर्षलाई थप

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक पाण्डेले यो सुविधा १ वर्षका लागि थप भएको जानकारी दिए ।

२०७९ जेठ १४ गते लागू भएको यो सुविधा यही १३ गते सकिँदै थियो । अब यो सुविधा २०८१ को जेठ १३ गतेसम्म उपभोग गर्न पाइने पाण्डेले बताए । यसैगरी नेपाल वायुसेवा निगमले लिने ग्राउण्ड हयान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिँदै आएको छ ।