भौतिक पूर्वाधारलाई १ खर्ब १३ अर्बकाे बजेट सिलिङ

भौतिक पूर्वाधारलाई १ खर्ब १३ अर्बकाे बजेट सिलिङ

चालु आवभन्दा ५४ अर्ब कटौती

विकास टाइम्स
51
Shares

काठमाडौँ ।

आगामी आर्थिक वर्षमा २०८०/०८१ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे बजेट घटेर आउने भएको छ । चालु आवमा १ खर्ब ६७ अर्ब रुपैयाँ बजेट पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आवमा भने बजेटमा भारी कटौती हुने देखिएको छ ।

चालु आवको तुलनामा करिब ५४ अर्ब घटेर बजेट सिलिङ आएको मन्त्रालयका सचिव केशवकुमार शर्माले विकास टाइम्ससँग बताए । ‘५४ अर्ब बजेट कटौती गरी बजेट सिलिङ आएको छ,’ उनले भने, ‘अब १ खर्ब १३ अर्ब बजेटभित्र मन्त्रालयले कार्यक्रम बनाउँदै छ ।’

उनका अनुसार बजेट कटौतीका कारण निर्माण हुने र निर्माणाधीन अवस्थाका विकास आयोजनालाई समस्या पर्नेछ । मुलुकको उत्पन्न आर्थिक मन्दीका कारण सरकारले आगामी आवमा विकास र पुँजीगत खर्च कटौती गर्ने नीति लिएको छ ।

मन्त्रालयका अनुसार अधिकांश निर्माणधीन आयोजना सम्पन्न गर्नका लागि पनि बजेटकै अभाव हुन सक्ने देखिएको छ । आगामी आवमा मन्त्रालयले नयाँ योजना अघि बढाउने र निर्माण प्रक्रियामा गइसकेका आयोजनालाई सम्पन्न गर्ने गरी बजेट तर्जुमा गर्ने मन्त्रालयले जनाएको छ ।

खासगरी, सडक, रेलमार्ग, सुरुङमार्ग, यातायात पूर्वाधारलगायत क्षेत्रका कतिपय आयोजनालाई पनि बजेटको अभाव हुने देखिएको छ । रणनीतिक सडक निर्माण, पुल तथा राष्ट्रिय गौरवका कतिपय आयोजना निर्माणमा पनि बजेटको अभाव हुने देखिएको छ ।

आगामी आवको बजेटमा खासगरी राष्ट्रिय गौरवका हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग, उत्तर दक्षिण करिडोर, पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, नागढुंगा सुरुङमार्गलगायत रणनीतिक पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखिने मन्त्रालय स्रोतले जनाएको छ ।

निर्माणाधीनबाहेक आगामी आवमा नयाँ आयोजनामा हात नहाल्ने मन्त्रालयको दाबी छ । यद्यपि, चालु अवस्थाकै आयोजनामा पनि बजेट कम जाने देखिएको छ ।