धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

विकास टाइम्स
0
Shares

धादिङ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ ।

बन्द भएको १८ घन्टापछि हिजो मंगलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो ।

धुनिबेँशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ ।

नयाँ पुल निर्माणको लागि फाउन्डेसन खन्ने क्रममा पुरानो पुलको फाउन्डेसन  भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याबिन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो ।

अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।