ढाेरपाटनले कृषकलाई दियाे अनुदानमा उपकरण

ढाेरपाटनले कृषकलाई दियाे अनुदानमा उपकरण

विकास टाइम्स
21
Shares

बागलुङ ।

बागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रविधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराएको हो ।

कृषकलाई घाँस तथा पराल र छ्वाली काट्ने इलेक्ट्रिक चापाकटर, मिनीटेलर हलो र प्लास्टिक टनेल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले जानकारी दिए ।

व्यक्तिगत कृषि फार्म दर्ता गरेका कृषक, सहकारी र कृषि समूहलाई यस पटक कृषि औजार उपलब्ध गराइएको अधिकारीको भनाइ छ । १७ वटा चापाकटर, १८ वटा मिनिटेलर हलो, १४४ वटा प्लास्टिक टनेल वितरण गरेको उनले बताए ।

सबै औजार ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको अधिकारीले बताए । कृषक र समूहले माग गरेअनुसार कृषि औजार नगरपालिकाले खरिद गरेर वितरण गरेको अधिकारीको भनाइ छ ।

उनले भने, ‘नगरपालिकाले कृषकलाई आवश्यक औजार माग गर्नका लागि सूचना आह्वान गरेका थियौँ, सोहीअनुसार ३ लाख ५० हजार रुपैयाँको चापाकटर, साढे ४ लाखको मिनीटेलर र साढे ४ लाखकै प्लास्टिक टनेल वितरण भएको छ । कृषि सामग्री पाएपछि कृषक हर्षित भएका छन् । यसले उहाँहरूलाई उत्पादन बढाउन मद्दत पुग्ने छ भने थप सक्रिय भएर कृषि कर्ममा लाग्न प्रेरणा मिल्ने छ ।’

कृषि औजार प्राप्त गरेका रुद्रावती कृषि सहकारी संस्थाका अध्यक्ष रेशमराज रेग्मीले नगरपालिकाले दिएको औजारले ग्रामीण क्षेत्रमा घाँस काट्न किसानलाई ठुलो मद्दत पुग्ने बताए ।

उनले आधुनिक प्रविधिको विकाससँगै कृषिमा पनि आधुनिकीकरण हुन जरुरी रहेको भन्दै नगरपालिकाले कृषकलाई प्रविधिसँग जोड्न थालेको बताए ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले कृषिमा आधुनिकीकरण गर्न कृषकलाई आधुनिक औजार वितरण गरेको बताए । कृषि उपकरणले कृषकको समय बचत हुनुका साथै उत्पादन बढाउन टेवा पु¥याउने अपेक्षा लिएको उपप्रमुख कायतको भनाइ छ ।

परम्परागत रूपमा पशुपालन र खेतीपाती गर्दा परनिर्भर नै हुनुपरेको भन्दै अब हरेक कृषकलाई प्रविधिसँग जोड्ने उनले बताए ।

उपप्रमुख कायतले भने, ‘हाम्रो नगरपालिकाभित्र धेरै खेतीयोग्य जमिन छन्, अहिलेसम्म कृषकले पुरानै शैलीमा कृषि गर्दा धेरै उत्पादन हुन सकेको छैन । वर्ष दिन काम गरेर ६ महिना खान नपुग्ने अवस्था छ । यो अवस्था नयाँ प्रविधि नअपनाउँदा आएको हो । अब कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने र सामान्य ज्ञान दिने, उन्नत जातका बिउबिजन वितरण गरेर कृषिबाट आत्मनिर्भर बनाउने प्रयास हामीले गरिरहेका छौँ ।’