काठमाडौ विमानस्थलबाट २२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय नाइके पक्राउ

काठमाडौ विमानस्थलबाट २२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय नाइके पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २२ करोड रुपैयाँ बराबरको साढे ५ किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारे रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले थाइल्यान्डबाट नेपाल आएका उनको लगेज जाँच गर्ने क्रममा खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाएर ल्याइएको अवस्थामा उक्त हेरोइन बरामद गरेको हो।

प्रहरी अनुसन्धानका अनुसार तिघारे अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति हुन्। यसअघि पनि उनले लाओसबाट नेपाललाई ट्रान्जिट बनाएर दुई पटक ९हवाई र स्थलमार्ग हुँदै० लागुऔषध भारत पुर्‍याएको खुलेको छ। ब्यूरोका अनुसार उनले लाओससहित जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियाको समेत भ्रमण गरेको पाइएको छ। उनको साथबाट एक थान पासपोर्ट, मोबाइल र मेकानिकल इन्जिनियरको प्रमाणपत्र पनि बरामद भएको छ। नेपाली बजारमा प्रतिग्राम ४० हजार रुपैयाँ पर्ने यो हेरोइन भारत पुर्‍याउँदा अझ महँगोमा बिक्ने प्रहरीको भनाइ छ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका तिघारेमाथि थप अनुसन्धान भइरहेको छ। लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार सेतो हेरोइनको कारोबार प्रमाणित भएमा उनलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।