व्यास नगरपालिकाद्वारा कृषकलाई धानको बिउ वितरण

व्यास नगरपालिकाद्वारा कृषकलाई धानको बिउ वितरण

विकास टाइम्स
24
Shares

तनहुँ ।

तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरेको छ । पालिकाले प्रतिकिलो ५५ रुपैयाँमा खरिद गरी कृषकलाई बिउ वितरण गरेको हो ।

रामधान १७, सावित्री १४ र सुख्खाधान ३ क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बिउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिइन् ।

संघीय सरकारको खाद्य बाली उन्नत बिउ प्रयोग मूल्य अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई बिउ वितरण गरिएको हो ।

व्यास नगरपालिका मातहतका १४ मध्ये १२ वडाका कृषकले माग गरेअनुरुप धानको बिउ नवलपुर, चितवन, स्याङ्जालगायत जिल्लाबाट संकलन गरी वितरण गरेको हो । व्यास–२ र ३ बजार क्षेत्रका कृषकले भने धानको बिउ माग नगरेको उनले बताए ।

व्यासका अन्य वडाका कृषकले धानको बिउ माग गरे पनि विशेष गरी १, ५, ६, ७ र ९ वडा धान खेतीका लागि पकेट क्षेत्रका रूपमा परिचित छन् । उन्नत बिउका लागि भनेर मगाइएको धानको बिउ सम्बन्धित वडाको तोकिएका स्रोत केन्द्रबाट कृषकलाई वितरण गर्ने व्यवस्था मिलाइएको अधिकृत बगालेले जानकारी दिइन् ।

कृषकलाई व्यावसायिक खेतीमा उत्साहित गराउन र आत्मनिर्भर बनाउने उद्देश्यले बिउमा अनुदान कार्यक्रमलाई व्यास नगरपालिकाले प्राथामिकता दिँदै आएको छ ।

प्रशस्त पानीको सुविधा भएका स्थानमा सावित्री, रामधान र आकासे पानीको भरमा रोपिने सुख्खा ठाउँमा सुख्खा धान लगाउन राम्रो हुने बताइएको छ ।

बिउमा अनुदान दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लागेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाले केही समयअघि रामपुर, कम्पोजिट, मनकामना–३, अरुण–२ लगायत जातको ७ मेट्रिक टन उन्नत मकैको बिउसमेत ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।