घोराही–तुलसीपुर ४ लेन सडक : ठेक्का ताेडिएपछि मर्मत गर्न बजेट

घोराही–तुलसीपुर ४ लेन सडक : ठेक्का ताेडिएपछि मर्मत गर्न बजेट

विकास टाइम्स
45
Shares

काठमाडाैँ ।

दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणको ठेक्का तोडिएपछि सोही सडकमा परेका खाल्डाखुल्डी टाल्न बोलपत्र आह्वान गरिएको छ ।

यस कार्याका लागि सडक डिभिजन कार्यालयले तीन करोड नौ लाख ५० हजारको बोलपत्र आह्वान गरेको हो । सोही सडकमा देखिएका खाल्डाखुल्डीले दुर्घटना बढिरहेकाले तत्काल मर्मतका लागि मङ्गलबार सूचना जारी गरिएको कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

उनका अनुसार सडकको दुई खण्डमा काम हुनेछ । घोराहीको कुइरेपानी हुँदै तुलसीपुरसम्मको २९ किलोमिटर सडकको ठाउँठाउँमा परेका खाल्डाखुल्डी आगामी असोजसम्म पुरिसक्नु पर्नेछ । ‘हामीले अहिले बोलपत्र आह्वान गरेका छौँ’, कार्यालय प्रमुख अधिकारीले भने, ‘असोजसम्म बिग्रिएको सडक मर्मत गरी सक्ने गरी सम्झौता गरिनेछ ।’

चार लेनको सडक निर्माण कार्य अलपत्र हुँदा बीच–बीचमा परेको खाल्डाखुल्डीले आवतजावतमा समस्या हुनाका साथै दुर्र्घटना बढिरहेका कारण चौतर्फी आलोचना भएपछि ठेक्का रद्दको प्रक्रिया अघि बढेको थियो । ठेकेदार नै सम्पर्कमा नआएपछि ठेक्का रद्द गरिएको लमहीस्थित चारलेन परियोजना कार्यालयका सूचना अधिकारी कृष्टिना थापाले बताए । उनका अनुसार अब पुनः डिपिआर गरेर मात्रै काम अघि बढाइनेछ । ‘नेपाल सरकारले नै बजेट हालेर आफै पनि काम गर्न सक्छ’, उनले भने, ‘भारतीय एक्जिम बैंकले बजेट उपलब्ध गराए पनि अहिलेजस्तो समस्या नआउने गरी सहमति गरेर काम गर्ने पनि हुन सक्छ, त्यो सरकारको कुरा भयो ।’

उक्त सडकका निर्माणका लागि पटक–पटक गरी चौथो पटक म्याद थप गरिएको थियो । त्यो अवधि २०८० असारसम्म भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले ठेक्का लिएकामा काम गर्न सक्ने सम्भावना कम रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएकोे थियो । उक्त कम्पनीले पेटी ठेकेदारमार्फत काम गर्दै आएको थियो । यो बीचमा आठजना पेटी ठेकेदारलाई काम दिएको भए पनि निर्माण सुरु भएको पाँच वर्षसम्म पनि १० प्रतिशतभन्दा बढी काम हुन नसकेकाले यस क्षेत्रका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलले समयमा काम गर्न दबाब दिनाका साथै काम गर्न नसके ठेक्का तोड्नुपर्ने माग गर्दै आएका थिए ।

यस विषयमा पटक–पटक जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको पहलमा छलफल भएका थिए ।
पटक–पटक ठेकेदार कम्पनीलाई तोकिएको अवधिमा काम सक्ने गरी लिखित कार्यतालिका र प्रतिबद्धता पेस गर्न परियोजना कार्यालयले सूचना जारी गरेको थियो । त्यसबीचमा ठेकेदार कम्पनीले लिखित र मौखिक प्रतिबद्धता जनाए पनि काम हुन सकेको थिएन ।

यसरी परेको थियो अलपत्र

घोराही–तुलसीपुर चारलेनको काम २०७५ साल माघदेखि सुरु भएको हो । ३० महिनामा काम सक्ने गरी सम्झौता भयो । तर चौथो पटक म्याद थप भइसक्दा पनि काम अघि बढ्न सकेन । सुरुमा २०७८ साल जेठ ६ गतेभित्र काम सक्नुपर्ने सहमति थियो तर त्यो अवधिमा काम सक्नुभन्दा पनि छ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन ।

त्यसपछि २०७८ साल साउन २७ गतेसम्म काम सक्ने गरी पहिलोपटक र २०७८ साल पुस २८ गते सक्ने गरी दोस्रो पटक म्याद थप भयो तर काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ साल वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन । त्यसपछि खरिद ऐनको १२औँ संशोधनले चौथो पटकका लागि २०८० साल असारसम्म स्वतः म्याद थप गरिएकामा त्यो अवधिमा पनि काम सक्ने अवस्था नदेखिएकाले ठेक्का रद्द गरिएको हो ।

सोही सडक सुरुमा अष्टभैरब निर्माण सेवाका अनुप पाण्डेले पेटी ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि काम गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए । उनीहरुबाट पनि काम हुन नसकेपछि सुनिलजङ्ग रायमाझी आएका थिए । उनले पनि काम गर्न सकेनन् । भारतीय एक्जिम बैंकको सहयोगमा चारलेन सडक भ्याटसहित एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलर (नेपालीमा एक अर्ब २३ करोड) मा निर्माण गर्न भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रजेक्ट ठेक्का पाएको थियो । रासस