वालिङले खुलायो आंशिक कित्ताकाट

वालिङले खुलायो आंशिक कित्ताकाट


स्याङ्जा ।

लामो समय जग्गाको कित्ताकाट रोकिँदा अंशबन्डादेखि जग्गाको लेनदेन र कारोबारमा समस्या हुँदै आएको थियो । जग्गाको वर्गीकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइए पनि अहिलेसम्म वर्गीकरण हुन नसक्दा समस्या भइरहेको थियो ।

ढिलै भए पनि स्याङ्जाको वालिङ नगरपालिकाले भने आंशिक कित्ताकाट सुरु गरेको छ । राष्ट्रिय भू–उपयोग ऐन–२०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरू, २०७९ अनुसार वालिङ नगरपालिकाले जग्गाको वर्गीकरण गरेपछि जग्गाको कित्ताकाट खुलेको हो ।

आंशिक रूपमा कित्ताकाट सुरु भएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । वालिङ नगरपालिकाभित्रका ५ वटा वडामा कित्ताकाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।

नगरपालिकाका वडा–६, ८, ९, १० र १३ मा कित्ताकाट सुरु भएको हो । कित्ताकाट सुरु हुने वडाको जग्गा वर्गीकरण गरी सम्बन्धित मालपोत र नापी कार्यालयमा पठाइसकिएको शर्माले जानकारी दिए ।

कित्ताकाट गरिएका वडाका नागरिकले स्रेस्ता कायम गर्नुपर्ने भएमा सक्कल लालपुर्जा लिई मालपोत कार्यालयमा जान नगरपालिकाले अनुरोध गरेको छ ।

वालिङ नगरपालिकाले कृषि र गैरकृषि जग्गासहित राष्ट्रिय भू–उपयोग ऐन–२०७६ अनुसार छुट्टयाएर पठाएकाले अब कित्ताकाट सुरु हुने मालपोत कार्यालय वालिङका सूचना अधिकारी जीवनाथ पौडेलले जानकारी दिए । मापदण्ड पुगेर आएका जग्गाको काम हुने उनले बताए ।

नगरपालिकाले आंशिक रूपमा मात्रै कित्ताकाट सुरु गरेपछि नागरिकमा भने असन्तुष्टि देखिएको छ । १, २, ३, ४, ५, ७, ११, १२, १४ वडाको कित्ताकाट भने केही दिनपछि सुरु हुने नगर प्रमुख कृष्ण खाँणले बताए । १४ वटा वडा रहेको नगरपालिकामा ५ वडामा मात्रै कित्ताकाट खुलेको र अन्य ९ वटा वडाको कित्ताकाट खुलाउन ढिलाइ गरेको भन्दै नागरिकले असन्तुष्टि पोखेका हुन् ।

नगरपालिकाले कित्ताकाट खुलाएका वडाहरू सिद्धार्थ राजमार्गले छोएका हुन् । राजमार्गले छोएको जग्गालाई घरबाटो कायम गर्न र गैरकृषियोग्य जमिन भन्न सजिलो भएकाले वर्गीकरणमा सहज भएको बताइएको छ ।