बिरामी बोक्न खार्पुनाथ गाउँपालिकाको आफ्नै एम्बुलेन्स

बिरामी बोक्न खार्पुनाथ गाउँपालिकाको आफ्नै एम्बुलेन्स

विकास टाइम्स
0
Shares

सिमकोट । 

हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ ।

उक्त गाउँपालिकासम्म आइपुग्ने बाटो अभावका कारण सलीसल्लाबाट हेलिकप्टरमार्फत ढुवानी गरेर एम्बुलेन्स ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए ।

अब गाउँपालिकाभित्रका सेवाग्राहीहरूका लागि जिल्ला अस्पतालसम्म ल्याउन निःशुल्क सेवा प्रदान गर्ने उक्त एम्बुलेन्स हाल तयारी अवस्थामा राखिएको छ ।

एम्बुलेन्स आउनुअघि बिरामीलाई गाडी रिजर्भ गरेर उद्धार गर्ने गरिएकामा अब पालिकाको आफ्नै एम्बुलेन्सबाट बिरामीको उद्धार गर्न सहज हुने भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए ।

भारतीय दूतावासले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स माथिल्लो हुम्ला सडक सञ्जालसँग नजोडिएका कारण गाउँपालिकासम्म ल्याउन कठिनाइ भएको थियो ।