पहरी बस्ती हस्तान्तरण

पहरी बस्ती हस्तान्तरण

विकास टाइम्स
0
Shares

सर्लाही ।

सर्लाहीको बागमती नगरपालिकाले लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरेको छ । बागमती नगरपालिकाको १ करोड ५३ लाख लागतमा बागमती नगरपालिका– ११ मा १३ घर लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए।

उनका अनुसार सिन्धुली र मकवानपुरमा अव्यवस्थित रूपमा बसोबास गरिरहेका लोपोन्मुख पहरी जातिलाई नगरपालिकाको सो खर्चमा नमुना पहरी बस्ती निर्माण गरी हस्तान्तरण गरिएको हो ।

नमुना बस्तीमा खानेपानी, विद्यालय, स्वास्थ्य संस्थाका साथै संविधानले तोकेको न्यूनमत मौलिक र नैसर्गिक अधिकारभित्रका आधारभूत आवश्यकता पूरा गरी नमुना बस्ती निर्माण गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन् ।

उनका अनुसार लोपोन्मुख सो जातिको संरक्षणका लागि नगरपालिका गम्भीर भएको र नगरपालिकाको लगानीमा निर्माण गरिएको बस्ती हस्तान्तरण गरिएको हो । बागमती नगरपालिका–४, ११ र १२ मा गरी करिब सात हजार तीन सय घरधुरी भूमिहीन, अव्यवस्थित, दलित तथा भूमिहीन सुकुम्वासीको व्यवस्थापन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले जानकारी दिए ।

भूमिहीन, अव्यवस्थित, दलित तथा भूमिहीन सुकुमबासीको व्यवस्थापन गरिएको स्थानमा आधारभूत आवश्यकता पूरा गरिएको बागमती नगरपालिका-११ का वडाध्यक्ष प्रदीपकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार नगरका विभिन्न ३ वडामा बसोबास गरिरहेका भूमिहीन, अव्यवस्थित, दलित तथा भूमिहीन सुकुमबासीको लगत संकलनको काम सकिएको र नापी कार्यालय तथा वन कार्यालयसँग समन्वय गरेर चाँडै उनीहरूलाई लालपुर्जा उपलब्ध गराउने तयारी गरिएको छ ।