तनहुँ जलविद्युत् आयोजना : १८ वटा सुरुङ खनियो, २०८३ असारसम्म सक्ने लक्ष्य

तनहुँ जलविद्युत् आयोजना : १८ वटा सुरुङ खनियो, २०८३ असारसम्म सक्ने लक्ष्य

रासस
111
Shares

दमौली ।

तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत हालसम्म १८ वटा सुरुङ खन्ने काम सकिएको छ। आयोजनाको प्याकेज-२ अन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको हो ।

त्यस्तै एउटा सुरुङ खन्ने काम जारी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । आयोजनाका अनुसार १ हजार ३८३ दशमलव ८२ मिटरको प्रवेश सुरुङ, २७० मिटरको मुख्य प्रवेश सुरुङ, ३५६ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ-१, १०२ दशमलव ७ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ-२, २१८ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ-३ र ४३७ दशमलव १२ मिटरको सर्जट्यांकतर्फको सुरुङ खन्ने काम सकिएको छ ।

१ हजार ४५६ मिटरको हेडरेस सुरुङमध्ये हालसम्म ८७३ दशमलव ८ मिटर सुरुङ खनिसकिएको छ भने खन्ने कार्य जारी रहेको आयोजनाले जनाएको छ । त्यस्तै २२० दशमलव ५४ मिटरको पेनस्टक सुरुङ, ३८ दशमलव २० मिटरको मुख्य सुरुङको पेनस्टक तल्लो भाग, ६७ मिटरको पेनस्टक साफ्ट, २० दशमलव ६ मिटरको वाइफरकेसन पेनस्टक तल्लो भाग, ४७ दशमलव ३७ मिटरको पेनस्टक वाइफरकेशन-१, ४७ दशमलव ३७ मिटरकै पेनस्टक वाइफरकेसन-२ सुरुङको काम सकिएको छ।

१०४ दशमलव ६ मिटरको ड्राफ्ट ट्युब सुरुङ, ५२ दशमलव ३ मिरको ट्रेलरेस ड्राफ्ट सुरुङ-१, ५२ दशमलव ३० मिटरकै ट्रेलरेस ड्राफ्ट सुरुङ-२, २१० दशमलव ९ मिटरको ट्रेलरेस सुरुङ, १८८ मिटरको केबल सुरुङ र ३१५ मिटरको बाँधतर्फ जाने पहुँच सुरुङ खन्ने काम शतप्रतिशत सकिएको छ ।

सोही प्याकेजअन्तर्गतको विद्युतगृह कंक्रिटिङ, ट्रेलरेस कंक्रिटिङ, केबल सुरुङ कंक्रिटिङ, ड्राफ्ट ट्युब सुरुङ कंक्रिटिङको काम चलिरहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज-२ अन्तर्गत नै हाइड्रोमेकानिकल कार्यको ठाडो सुरुङमा पेनस्टक पाइप जडान काम भइरहेको छ । हालसम्म २४ दशमलव ६ मिटर जडान गरिएको आयोजना प्रमुख शिल्पकारले बताए ।

प्याकेज-२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन चीनले भूमिगत विद्युत्‌ गृह, मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्य गरिरहेको छ । यो प्याकेजको निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसनसँग २०७५ असोज १५ गते १ अर्ब १४ करोड १ लाख ८८ हजार ९५८ अमेरिकी डलर र ३ अर्ब ८३ करोड १३ लाख ६० हजार ३६१ नेपाली रुपैयाँमा खरिद सम्झौता भएको थियो।

खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपछि सिनोले २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ। प्याकेज-१ अन्तर्गत डाइभर्सन सुरुङ-१ को माथिल्लो भाग वारपार (ब्रेक थ्रु) भएपछि हाल यसलाई सडक सुरुङका रूपमा प्रयोगमा ल्याइएको जनाइएको छ ।

त्यस्तै रकबोल्ट जडान, गुणस्तर परीक्षण तथा थप सटक्रिटका कार्य जारी रहेको आयोजनाले जनाएको छ । प्रवेश सडकतर्फ सेती नदीको दायाँ किनारतर्फबाट बाँधको माथिल्लो भागतर्फ जाने प्रवेश सडकको किनारामा नाली निर्माण, ग्याबिन राख्नेलगायत कार्य गरिएको आयोजनाले जनाएको छ।

स्लोप खन्ने काम अन्तर्गत दायाँतर्फ आवश्यक सपोर्टसहित इलिभेसन तह स्लोप खन्ने कार्य इलिभेसन तह चार सय ३० मिटरमा पुगेको छ भने बायाँतर्फ सटक्रिट, वारमेस तथा रिब्स जडानसहित खन्ने कार्य जारी रहेको जनाइएको छ। प्याकेज-३ अन्तर्गत प्रसारण लाइन निर्माणका क्रममा हालसम्म ५५ वटा टावरको जग हाल्ने कार्य सकिएको छ।

३३ वटा टावर जडान कार्य भएको छ भने ९ वटा टावरको जग संरक्षण सम्पन्न भएको, एक स्थानमा टावर जडान, एक स्थानमा संरक्षण कार्य र ७ स्थानमा जग हाल्ने कार्य भइरहेको उनले बताए ।

दमौली भरतपुर २२० केभी प्रसारण लाइनअन्तर्गत चितवनमा टार प्याड निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा रकम वितरण सुरु भएको जनाइएको छ ।

प्याकेज-१ अन्तर्गत डाइभर्सन सुरुङको माथिल्लो भाग वारपार भएपछि हाल यसलाई आवतजावतका लागि सडक सुरुङका रूपमा प्रयोगमा ल्याइएको छ। यो प्याकेजअन्तर्गत डाइभर्सन सुरुङ-१ आउलेट स्लोभ तथा पोर्टल, डाइभर्सन सुरुङ-२ आउलेट स्लोभ तथा पोर्टल, डाइभर्सन सुरुङ-१ इनलेट स्लोभ तथा पोर्टल तथा डाइभर्सन सुरुङ-२ इनलेट स्लोभ तथा पोर्टलको काम सम्पन्न भइसकेको छ।

आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ। कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।