विद्युतको निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छः कुलमान घिसिङ

विद्युतको निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छः कुलमान घिसिङ

विकास टाइम्स
3
Shares

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन् । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उनले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताए । घिसिङले ती देशमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युतले राम्रो दर पाउने उल्लेख गरे ।

सञ्चयकोषले यसअघि माथिल्लो तामाकोशी, साञ्जेन, रसुवागढी, मध्यभोटेकोशी जस्ता आयोजना लगानी गरिसकेको छ । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९ दशमलव आठ मेगावाट क्षमताको आयोजनामा कोषले रु १३ अर्ब ७४ करोड बराबरको लगानी गर्ने भएको हो । निर्माण अवधिको ब्याजसहित रु २१ अर्ब १४ करोड बराबरको अनुमानित लागत रहेको आयोजनामा कोषले एकलरुपमा नै लगानी गर्न लागेको हो ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्वसाधारणलाई शेयर बिक्री गरेर स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।