गाउँपालिकाका सबै वडा सचिवविहीन, अहेव र अनमीले चलाउँछन् कार्यालय !

गाउँपालिकाका सबै वडा सचिवविहीन, अहेव र अनमीले चलाउँछन् कार्यालय !

रासस
99
Shares

रोल्पा ।

रोल्पाको एक गाउँपालिकाका सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् ।

जिल्लाको थवाङ गाउँपालिकाका सबै वडा कार्यालय स्वास्थ्यकर्मी र कृषि प्राविधिकको भरमै सञ्चालन भइरहेका हुन् ।

५ वटा वडा रहेको गाउँपालिकामा ४ वटा वडामा स्वास्थ्यकर्मी र एउटा वडामा कृषि प्राविधिकले वडा सचिवको काम गर्दै आएका छन् ।

गाउँपालिकाको वडा–१ मा एचए, वडा–२ मा कृषि शाखाका प्राविधिक कर्मचारी, वडा–३ मा अनमी, वडा–४ र ५ मा अहेवले वडा सचिवको काम गरिरहेका छन् ।

थवाङ गाउँपालिकाको वडा–१ र २ साविक थवाङ गाविस, वडा–३ साविक मिरुल गाविस र वडा–४ र ५ साविक उवा गाविस हुन् ।

स्वास्थ्यकर्मी र कृषि प्राविधिकले वडा सचिवको काम गर्दा सेवा प्रवाह राम्रो नभएको वडाध्यक्षहरूको गुनासो छ ।

‘प्रशासनिक ज्ञान भएका वडा सचिवको साटो प्राविधिक ज्ञान भएका स्वास्थ्यकर्मी र कृषि प्राविधिकबाट गुणस्तरीय सेवा प्रवाह हुने कुरै भएन,’ थवाङ गाउँपालिका–१ का वडाध्यक्ष हिराप्रसाद बुढामगरले भने ।

उनले पटक–पटक माग गर्दा पनि प्रशासनिक कर्मचारी उपलब्ध नभएपछि प्राविधिक कर्मचारीको भरमा वडा कार्यालय सञ्चालन गर्न बाध्य भएको बताए । प्राविधिक कर्मचारीलाई वडा सचिवको काम दिँदा प्राविधिक काम पनि प्रभावित भएको उनले बताए ।

‘थवाङ गाउँपालिकामा कर्मचारी आउन नमान्ने, आए पनि छिट्टै सरुवा भएर जाने कारणले वडाको काम प्राविधिक कर्मचारीबाट गराउन बाध्य भएका छौँ,’ थवाङ गाउँपालिका–४ का वडाध्यक्ष हिक्मत घर्तीमगरले भने ।

‘वडा कार्यालयको कामलाई गुणस्तरीय बनाउन प्रशासनिक कर्मचारी उपलब्ध गराइदिन पटक–पटक माग गरे पनि सुनुवाइ भएको छैन,’ घर्तीमगरले गुनासो गरे ।

एउटा सेवाको कर्मचारीले अर्को सेवाको काम गर्दा काम गुणस्तरीय नहुनुको साथै दुवैतर्फ असर गर्ने वडाध्यक्ष घर्तीमगरको भनाइ छ ।

थवाङ जनसंख्या र क्षेत्रफल दुवै हिसाबले जिल्लाकै सबभन्दा सानो स्थानीय तह हो । जिल्लाकै दुर्गम मानिने सो गाउँपालिका जिल्ला सदरमुकाम लिवाङवाट २८ कोश उत्तरमा पर्छ । दुर्गम भएका कारण सो गाउँपालिकामा कर्मचारी हत्तपत्त जान मान्दैनन् ।