मनोहरा क्षेत्रका अतिक्रमित संरचनामा डोजर

मनोहरा क्षेत्रका अतिक्रमित संरचनामा डोजर

विकास टाइम्स
45
Shares

काठमाडौँ ।

मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संरचना हटाउन सुरु गरेको छ ।

सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए ।

आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भर्‍याङ, पर्खाललगायत संरचना हटाउन ७ दिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने उनले बताए ।

यसअघि अतिक्रमति घरटहरा, छाप्रा, भर्‍याङ, पर्खाललगायत संरचना हटाउन आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेको थियो ।

ती सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले घरटहरा भत्काउन थालिएको बरालले बताए ।

अभियानअन्तर्गत आयोजनाले मध्यपुरथिमि नगरपालिका–१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका ३ वटा टहरा मंगलबार भत्काएको छ । यसलाई तीव्रता दिँदै भक्तपुर र काठमाडौँतर्फका सबै अतिक्रमित संरचना भत्काइने उनले बताए ।

मनोहरास्थित टहरामा बस्दै आएकाहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिए पनि उच्च अदालतले २०८० जेठ ४ गते अन्तरिम आदेश नदिई खारेज गरेको र अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै अतिक्रमित घरटहरा हटाउन पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेकाले बाध्य भएर डोजर चलाएको उनले जानकारी दिए ।

आयोजनाले भदौ २९ गते पनि अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको तर अटेर गरेको, पटक–पटक अतिक्रमित क्षेत्र र आयोजनाभित्र माइकिङ गरेको र गत साता मात्रै घरमै गएर सूचना टाँस गर्नुका साथै पुनः माइकिङ गर्दा पनि अटेर गरेको उपनिर्देशकको बरालको भनाइ छ ।

भित्री सडक खुलिसकेको, तर मुखको सडकमा संरचना बनाएर ९ मिटर चौडा सडक नै कब्जा गरेपछि संरचना भत्काइएको उनको भनाइ छ ।