गल्याङ–बज्रे सडक पिच हुने भएपछि स्थानीय खुसी

गल्याङ–बज्रे सडक पिच हुने भएपछि स्थानीय खुसी

विकास टाइम्स
99
Shares

स्याङ्जा ।

साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् ।

स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ–बज्रे सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका हुन् ।

गल्याङ नगरपालिकाकोे २ करोड १ लाख ९२ हजार ५२३ रुपैयाँ र संघीय सरकारको २ करोड रुपैयाँ लागतमा गल्याङ–बज्रे सडक कालोपत्रे हुन लागेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

वालिङस्थित निर्माण कम्पनी विकेक एन्ड कुबेर बिल्डर्स प्रालिले कालोपत्रका नगरपालिकासँग ठेक्का सम्झौता गरी काम अगाडि बढाएको उनले बताए ।

पौडेलका अनुसार सोही बजेटभित्र २ हजार ५०० मिटर सडक कालोपत्रे, वाल उठाउने, नाली काट्ने, नाली बनाउने, ह्युमपाइप राख्ने, कल्भर्ट बनाउनेलगायत काम गरिनेछ ।

नगर प्रमुख गुरुप्रसाद भट्टराईले यस आयोजनाबाट करिब ८ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने बताए । बाटोको असुविधाले किसानले उत्पादन गरेका दूध, खसीबोका, गाईभैँसी, राँगा, कुखुरा, अन्नबाली, तरकारी निर्यातमा समस्या हुँदै आएकामा कालोपत्रपछि उत्पादित सामान निर्यातमा समस्या नहुने उनको भनाइ थियो ।

उनले सडक सुविधा सहज भए समान ढुवानी गर्न सजिलो हुने र ढुवानी लागत पनि घट्ने बताए ।

निर्माण कम्पनीका सञ्चालक कुबेर तिवारीले गत कात्तिकदेखि सुरु भएको काम वर्षाले दुःख नदिए असार मसान्तसम्म सक्ने लक्ष्य रहेको जानकारी दिए ।

स्थानीय ओमबहादुर थापाले कच्ची बाटोका कारण वर्षौँदेखि समस्या भोग्दै आएको बताए । उनले कालोपत्रको काम सकिएपछि सामान ढुवानी गर्न र यात्रा गर्न सुविधा हुने भन्दै निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेकामा खुसी व्यक्त गरे ।