स्वास्थ्यचौकी भवन निर्माण अलपत्र

स्वास्थ्यचौकी भवन निर्माण अलपत्र

भाडाकाे साँघुराे काेठाबाट सेवा प्रवाह

विकास टाइम्स
63
Shares

खोटाङ ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ ।

गौरी–पार्वती न्यू टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीका कारण अहिले अलपत्र अवस्थामा छ ।

ठेकेदार कम्पनीले २०७८ फागुन २७ गतेसम्म स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न गर्ने गरी २०७७ मंसिर ११ गते सम्झौता गरेको थियो । २ पटक थप भएको म्याद गुज्रिँदा पनि स्वास्थ्यचौकी भवन निर्माण अलपत्र छ ।

अर्कातर्फ निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्यचौकी भवनको पर्खाल ठेकेदारको लापरबाहीले कमसल बनेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । कतिपय ठाउँमा इँटाको पर्खाल ठेल्दा भत्किने गरेको स्थानीय कुबेर राईले बताए ।

पहिलो पटक थप भएको म्याद २०७९ असार ३२ गते र दोस्रो पटक थप भएको म्याद २०७९ माघ २ गते सकिएपछि ठेकेदारले पुनः आगामी असार मसान्तसम्मका लागि म्याद थपको माग गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका इन्जिनियर सुशील चौधरीले बताए ।

ठेकेदारका प्रतिनिधिले स्वास्थ्यचौकी भवन निर्माण गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र निर्माणको काम अघि बढ्ने बताउने गरेका छन् ।

साउदी सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् एउटै ठेक्कामा खोटाङको बाहुनीडाँडा, मंगलटार, बतासे, राखाबाङ्देल र दोर्पाचिउरीडाँडा स्वास्थ्यचौकी भवन निर्माणको काम सुरु गरिएको थियो ।

गौरी–पार्वती न्यू टेक्निकल जेभीले भ्याटबाहेक ७ करोड ४० लाख ८४ हजार २९६ रुपैयाँमा जिल्लाका ५ वटा स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको हो ।

समग्रमा जिल्लामा निर्माणाधीन पाँचै स्वास्थ्यचौकीको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति करिब ४७÷४८ प्रतिशत मात्र भएको इन्जिनियर चौधरीले जानकारी दिए ।

ठेकेदारले समयमा स्वास्थ्यचौकी भवन निर्माण नगर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य छन् ।

बाहुनीडाँडामा स्थानीय झोक्रे राईको घरका दुइटा साँघुरो कोठा भाडामा लिएर स्वास्थ्यचौकीको सम्पूर्ण सेवा सञ्चालन हुँदै आएको छ । बाहुनीडाँडामा यसअघि तत्कालीन गाउँ विकास समिति (गाविस)को जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा प्रवाह हुँदै आएको थियो ।

गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माण सुरु गरेपछि स्वास्थ्यचौकीलाई गत माघदेखि भाडाको घरमा सारिएको हो । भाडामा लिइएको घरको कोठामा दुइटा मात्र कुर्सी अटाइएका छन् ।

एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी प्रमुख लीलामाया लामिछाने बताउँछिन् ।

‘सेवा प्रवाह गर्ने कोठा साँघुरो छ । एकैचोटी ३–४ जना बिरामी आए बस्ने ठाउँको व्यवस्था छैन,’ उनले भनिन्, ‘कोठामा दुइटा कुर्सी मात्र अट्छ । बिरामीलाई उभ्याइरहनुपर्ने अवस्था छ । सेवा दिन एकदमै गाह्रो भइरहेको छ ।’

स्वास्थ्यचौकीको आफ्नै भवन नहुँदा बर्थिङ सेन्टर पनि स्थानीय उषा राईको घरमा राखिएको छ । स्वास्थ्यचौकीसँग नजिक रहनुपर्ने बर्थिङ सेन्टर केही टाढाको दुरीमा राखिएको छ ।

२०७५ सालदेखि मासिक ४ हजार रुपैयाँ भाडामा व्यक्तिको घरमा राखिएको बर्थिङ सेन्टरको कोठा पनि साँघुरो छ ।

स्वास्थ्यचौकीको भवन अलपत्र पार्ने ठेकेदारलाई पटक–पटक काम सम्पन्न गर्न ताकेता गरे पनि अटेर गरेको वडाध्यक्ष रुद्रबहादुर राई बताउँछन् । काम गरेका कामदारले ठेकेदारबाट हालसम्म पूरा पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् । रासस