निर्णय भएको १७ वर्षमा पनि बनेन सहिद स्मारक

निर्णय भएको १७ वर्षमा पनि बनेन सहिद स्मारक

सम्पन्न गर्न पहल गर्नेछु : उपराष्ट्रपति यादव

विकास टाइम्स
27
Shares

काठमाडौँ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जग डोल) सामुदायिक वन क्षेत्रमा निर्माणाधीन राष्ट्रिय सहिद स्मारक सम्पन्न गर्न पहल गर्ने बताएका छन् ।

मन्त्रिपरिषद्ले स्मारक निर्माण गर्ने निर्णय गरेको १७ वर्ष पूरा गरेको अवसरमा आयोजित १७औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वन तथा वातावरणमन्त्री हुँदा पनि काम रोकिएर अलपत्र बनेको स्मारकको काम अघि बढाउन सहयोग गरेको स्मरण गरे ।

२०६३ वैशाख ११ गते जनआन्दोलनको बलमा स्थापित संसद्ले परिवर्तनका लागि योगदान गर्ने सहिदका नाममा स्मारक बनाउने घोषणा गरेको उपराष्ट्रपति यादवले बताए । मुलुकका लागि सहादत हुने सहिदको नाममा निर्माण भइरहेको स्मारक पूरा गर्न सबैको योगदान हुनुपर्ने उल्लेख गर्दै त्यसमा आफूले पनि सघाउने वचन दिएका हुन् ।

काठमाडौँ–३ का सांसद सन्तोष चालिसेले राज्यका तर्फबाट सम्बोधन हुनुपर्ने विषयमा केही नहुँदा जनतामा वितृष्णा बढेको उल्लेख गर्दै जनचासोका विषयको सुनुवाइ हुनुपर्नेमा जोड दिए ।

६ महिनामा संसद्ले परिवर्तनको अनुभूति दिने गरी काम नगरे ठुलो दुर्घटना हुने भन्दै उनले त्यसका लागि पक्ष, प्रतिपक्ष नभनी सबै एक भएर काम गर्नुपर्नेमा जोड दिए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले स्मारकले ‘सहिद मुकेश कायस्थ हेड इन्जुरी’ निर्माणका लागि २२ रोपनी जग्गा दिएकामा धन्यवाद दिँदै ३२ करोड रुपैयाँको ठेक्का गरी काम अघि बढाइएको जानकारी गराए ।

स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले निर्माण सुरु भएको डेढ दशक हुँदा पनि काम सक्न पैसा छैन भन्ने जबाफ आउनु दुःखद् भएको बताए ।

आगामी आर्थिक वर्षमा स्मारकको काम सकाउन वन मन्त्रालयबाट ९ करोड, सहरी विकास मन्त्रालयबाट १० करोड र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २४ करोड प्राप्त हुने आश्वासन पाएको जानकारी उनले गराए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक, पूर्वसांसद कृष्ण राई, गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा, नेकपा (माओवादी केन्द्र) काठमाडौँका सचिव महेश्वर फुयाँल, द्वन्द्वपीडित सुरक्षाकर्मी संगठनकी अध्यक्ष रीता कार्की, सहिद परिवारका सदस्य द्रोण लामिछानेलगायतले अलपत्र रहेका स्मारकका संरचना छिटो निर्माणको पहल गरिदिन आग्रह गरेका थिए ।

२०६२/२०६३ को जनआन्दोलन सफल भएपछि २०६४ साल जेठ ११ गतेको मन्त्रिपरिषद् बैठकले राणा शासनको अन्त्यदेखि दोस्रो जनआन्दोलनसम्म स्वतन्त्रताका लागि लड्ने योद्धाको सम्झनामा गोकर्णको यज्ञडोल (जग डोल) सामुदायिक वनमा राष्ट्रिय सहिद तथा शान्ति स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।

निर्णयपछि गुरुयोजना निर्माण गरी सामुदायिक वनको ६५० रोपनी जग्गामा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत द्वन्द्वोत्तर शान्ति तथा पुनस्र्थापना परियोजनामार्फत् काम भएको थियो ।
मन्त्रालय खारेजीमा पर्नुअघि नै स्मारकका ५ आयोजनाको काम ठप्प भएको थियो । मन्त्रालय खारेजीपछि सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागमा परियोजना समावेश गरिएको थियो ।

सरकारले कार्य विभाजन नियमावली संशोधन गरी २०७५ असार २० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सहरी विकास मन्त्रालयअन्तर्गत आयोजना सञ्चालन गर्ने निर्णय गरेको हो ।

रोकिएका काममा डाँफे–गौरी–सुनौला–खिम्ती जेभीको सबैभन्दा धेरै अर्थात् २ करोड बराबरको काम बाँकी छ । बोक्खिम शान्ति निर्माण सेवा र सूर्य–जनपद जेभीले पनि काम पूरा गरेका छैनन् । अन्य २ निर्माण कम्पनीले भने काम नगर्ने जनाउ दिएको आयोजनाले जनाएको छ ।

स्मारक निर्माण आयोजना सरकार, समुदाय र निजी साझेदारीमा निर्माण गर्ने गरी २०६७ सालदेखि काम अघि बढाइएको थियो । २०७० सालमै आयोजना सम्पन्न गरी सहिद स्मारक सञ्चालनमा ल्याउने तयारी गरिएकामा सरकारी ढिलासुस्तीका साथै निर्माण व्यवसायीको आलटालले काम हुन नसकेको यज्ञडोल (जग डोल) सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षसमेत रहेका स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिका अध्यक्ष सिग्देलले बताए ।

गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा फैलिएको रमणीय स्थलको सामुदायिक वनमा स्वीकृत वन कार्ययोजनाअनुसार स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिदको स्मृतिमा स्मारक बनाउने निर्णय भएको थियो ।

निर्माण कार्य जुन गतिमा अघि बढ्नुपर्ने हो, सोअनुसार बढ्न नसक्नुमा निर्माण व्यवसायसम्बन्धी समस्या, ८ वर्षअघिको भूकम्प, त्यसपछि सीमा नाकामा भएको अघोषित नाकाबन्दीलगायत कारणले पनि लक्ष्य अनुसारको प्रगति हुन सकेको थिएन ।

स्मारक निर्माणका लागि कुल लागत ४६ करोड ७१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको जनाइएको छ ।

आयोजनाको वित्तीय प्रगति ५८ प्रतिशत अर्थात् २७ करोड रुपैयाँ खर्च भएको छ । जसमा ६५० रोपनी क्षेत्रफलभित्र वरिपरि घेरिएको पर्खाल, सडक निर्माण, केही बाटोको ट्र्याक खोल्ने प्रक्रिया अघि बढेको छ ।

निर्माण सम्पन्न भइसकेपछि संंघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि लड्ने, देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धासुमन अर्पण गरी उनीहरूको स्मृतिलाई चिरकालसम्म ताजगी राख्ने पवित्र तीर्थस्थलका रूपमा उपयोग हुने समितिका अध्यक्ष सिग्देल बताउँछन् ।

स्मारकमा ७२ रोपनी स्मृति क्षेत्र, मनोरञ्जन क्षेत्र १७२ रोपनी, संस्थागत क्षेत्र ५२ रोपनी, धार्मिक क्षेत्र १५ रोपनी र ३३९ रोपनी जग्गामा संरक्षित क्षेत्र तथा सहायक एवं नर्सरी, फोहोर व्यवस्थापन आदिका लागि छुट्ट्याइएको आयोजनाले जनाएको छ ।

आयोजना सुरु भएको १५ वर्ष पूरा हुँदा पनि काम अलपत्र हुँदा स्वतन्त्रताका लागि लड्ने सहिदको योगदानको उपहास भएको गोकर्णेश्वर नागरिक समाजका अध्यक्ष नोर्साङ शेर्पाले बताए ।

सहिद स्मारक अलपत्र पर्नुले यसप्रतिको सरकारको धारणा बुझ्न सकिने उनको भनाइ छ । पछिल्लो समय स्मारकको केही काम सुरु भए पनि डेढ दशकदेखि अलपत्र हुँदा सहिदको अपमान भएको नागरिक समाजका अगुवाको भनाइ छ ।