आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ

आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ

विकास टाइम्स
0
Shares

सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझ अबेर मात्र घर फर्किन्छिन् । हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उनी दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त छिन् ।

गतवर्ष च्याउ टिपेर रु २५ हजार कमाएकी उनलाई यस वर्ष झन् बढी पैसा कमाउने धोको छ । ताजागाउँकी बेलसरा बुढाले पनि वनजंगलमा बाख्रा चराउँदै गुच्चीच्याउ संकलन गर्ने गरेका छन् । गतवर्ष च्याउ बेचेर उनले रु ४० हजार कमाएकी थिइन् । जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्चीच्याउ टिप्ने चटारो छ ।

जिल्लामा बर्सेनि चैतको पहिलो सातादेखि गुच्चीच्याउ टिप्ने ‘सिजन’ सुरुआत हुन्छ । विपन्नको मुख्य आयस्रोतका रूपमा चिनिने च्याउले बर्सेनि राम्रो मूल्य पाउन थालेको छ । यस वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्चीच्याउको राम्रो उत्पादन भएको स्थानीयवासीको आशा छ ।

‘जंगलमा च्याउ टिप्दैमा दिन बित्ने गरेको छ,’ उनले भनिन्, ‘च्याउ नटिपे वर्षभरिको खर्च धान्न मुस्किल हुन्छ, त्यसैले वनजङ्गलको च्याउलाई मुख्य आयआर्जनको स्रोत बनाएका छौंँ ।’ च्याउ टिप्न बिहानै वनजंगलमा जानुपर्ने र साँझ मात्र घर फर्किने भएकाले पहिले नै खानपिनको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

स्थानीय बजारमा गुच्चीच्याउको मूल्य प्रतिकिलो रु १४ हजारदेखि १७ हजारसम्म पर्ने स्थानीयवासीको भनाइ छ । केही व्यापारीले प्रतिगोटा सात रुपैयाँमा च्याउ किन्ने गरेका छन् । जिल्लाको खत्याड, सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाका अधिकांश जंगलमा गुच्चीच्याउ पाइन्छ ।

बेँसीतिर उम्रिने गुच्चीच्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने सोरु गाउँपालिका कच्चेका कलबहादुर कार्कीले बताए । उनका अनुसार च्याउ टिप्ने समयमा गाउँमा ज्येष्ठ नागरिक र अशक्तमात्र घरमा बस्छन् । बालबालिकासमेत पढाइ छाडेर गुच्चीच्याउ टिप्न जाने गरेका छन् र च्याउको सिजनका बेलागाउँबस्ती सुनसान हुने गरेको छ ।

निगालो, पीपल, उन्युँ बढी भएको जंगलमा गुच्चीच्याउ बढी उम्रिने गरेको छ । उनका अनुसार उम्रेको दुई सातासम्म टिप्न नसके कुहिने, वन्यजन्तु र चराले खाने समस्या छ । सोरु गाउँपालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु, खत्याड गाउँपालिकाको खमाले, गम्था, निगालबोट तथा मुगुमकार्मारोङ गाउँपालिकाको चितै, माग्री, पापु गाउँका जंगलमा च्याउ बढी पाइन्छ ।

जिल्लामा उत्पादित गुच्चीच्याउ नेपालगन्ज, काठमाडौँं र तिब्बत्सम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी संगका अध्यक्ष मेलबहादुर शाहीले बताए । उनका अनुसार व्यवसायीले गाउँमै पुगेर च्याउ संकलन गर्छन् । उनले जिल्लामा करिब २० क्विन्टल बढी गुच्चीच्याउ पाइने गरेको बताए ।

सोरु गाउँपालिकाको वन क्षेत्रमा संकलन हुने च्याउ व्यापारीले हुम्लाको हिल्सा नाका हुँदै तिब्बती बजारमा पुर्याउने गरेका छन् । गुच्चीच्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमा समेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ ।