अटेर गर्ने अस्पताललाई कारबाही गर्ने तयारी

अटेर गर्ने अस्पताललाई कारबाही गर्ने तयारी


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरूप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम सार्वजनिक गर्ने तयारी रहेको र नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेलाई थप कारबाहीका लागि संघ तथा प्रदेश सरकारलाई लेखेर पठाइने महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।

यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन नै बन्द गरिने महानगरले जनाएको छ । लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने केन्द्र र प्रदेशअन्तर्गतका करिब ७२ अस्पतालको नाम आएको बताइएको छ ।

यही जेठ २ गते महानगरले एक सूचना प्रकाशित गरी लक्षित वर्गका बिरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गरेर विवरण प्रत्येक महिनाको १० गतेभित्र पठाउन आग्रह गरेको थियो । अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ को स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई छ । सोही व्यवस्थाबमोजिम अतिरिक्त लक्षित वर्गको विवरण पठाउन महानगरले आग्रह गरेको थियो ।

गत साता काठमाडाैँका मेयर बालेन शाहले फेसबुकमार्फत् पनि सूचना जारी गर्दै लक्षित वर्गलाई शय्या छुट्ट्याउन अनुराेध गरेका थिए ।

उनले लेखेका थिए, ‘लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिनाको १० गतेसम्म नबुझाउने पाइएमा काठमाडौँ महानगरपालिकाबाट नियमानुसार कारवाही हुने ब्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ ।’