विकास बजेट खर्च गर्न सकिएन : अर्थमन्त्री महत

विकास बजेट खर्च गर्न सकिएन : अर्थमन्त्री महत


काठमाडौँ  ।

अर्थमन्त्री डा. प्रकाशरण महतले चालु आवमा चालु खर्च बढी भएको बताएका छन् ।

संसद्मा बजेट पेस गर्दै मन्त्री महतले १२ खर्ब ८० अर्ब चालु खर्च र ऋण तिर्न खर्च हुने गरको भन्दै विकास खर्चका लागि ३० प्रतिशत रकमसमेत विनियोजन गर्न नसकिएको बताए ।

उनले यसले विकास बजेट खर्च हुन नसकेको जानकारी दिए । विदेशी लगानी नआएको र लगानीमैत्री वातावरण सिर्जना नभएको उनले बताए ।

यस्तै सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २ दशमलव १६ मात्रै हुने आकलन गरेको छ । ‘विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रूपमा आर्थिक वृद्धि हुने आकलन गरिएको हो,’ उनले भने ।

काेराेना महामारी कम भई सुधार आइरहेका बेला युक्रेन र रुस बीच युद्ध, उच्च ब्याजदर, सरकारको पुँजीगत खर्च नबढेको र समष्टिगत मागमा कमी आएकाले आर्थिक वृद्धि हासिल गर्न नसकिने अर्थमन्त्री डा महतले बताएका हुन् ।

यस्तै मन्त्री महतले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ८० अर्ब २५ करोड रुपैयाँ साधारण खर्चमा छुट्याउनुपरेको बताएका छन् । उनले कुल बजेटको ७३.१० प्रतिशत हिस्सा साधारण खर्चमा छुट्याउनुपरेको बताएका हुन् ।

अर्थमन्त्री डा. महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गरिरहेका छन् ।