ह्वात्तै घटाइयाे पूर्वाधारकाे बजेट, कुन सडकलाई कति ?

ह्वात्तै घटाइयाे पूर्वाधारकाे बजेट, कुन सडकलाई कति ?


काठमाडाैँ ।

सरकारले आगामी आर्थिक वर्षका लागि भाैतिक पूर्वाधार मन्त्रालयकाे बजेटमा व्यापक कटाैती गरेकाे छ । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको बजेट ३० अर्ब रुपैयाँ घटेको हाे ।

सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब  ३९ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । जबकि चालु आर्थिक वर्षमा १ खर्ब ६१ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

सरकारले मदन भण्डारी राजमार्गका लागि २ अर्ब ४१ करोड रुपैयाँ, मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब रुपैयाँ, हुलाकी राजमार्गका लागि ३ अर्ब, काठमाडौं तराई फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै, कालीगण्डकी करिडोरका लागि १ अर्ब ९८ करोड रुपैयाँ, नागढुंगा सुरुङमार्गका लागि ५ अर्ब १३ करोड रुपैयाँ र मुग्लिन-पोखरा राजमार्ग विस्तारका लागि ५ अर्ब रुपैयाँ र टोखा सुरुङमार्ग अध्ययनका लागि ५ अर्ब, राजमार्गहरूमा १५० वटा पुल निर्माणका लागि २ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसैगरी, पूर्वपश्चिम राजमार्ग ४ लेनमा विस्तारका लागि ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

कमला -ढल्केवर-पथलैया, वुटवल- गोरूसिङ्गे, काकडभिट्टा- लौकही, पथलैया- नारायणगढ र लमही-भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरु गरिने उनले बताए ।  नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गरिनेछ ।

यस्तै, सरकारले मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथर, रामेछाप, नुवाकोट, पर्वत, बाग्लुङ, जाजरकोट लगायतका विभिन्न १२ खण्डको निर्माण तथा स्तरोन्नति गर्न  ३ अर्ब ९६ करोड बजेट छुट्याइएको छ । हुलाकी राजमार्गअन्तर्गत तराई मधेसका विभिन्न जिल्लाका ८ खण्डको सडक निर्माण तथा स्तरोन्नति गर्न ३ अर्ब ४९ करोड बजेट छुट्याएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत इलाम, सुनसरी, गुल्मी, रोल्पा, सुर्खेत, कैलाली र डडेल्धुरा खण्डको निर्माण तथा स्तरोन्नतिकाे काम हुने छ ।

नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने सरकारकाे घाेषणा छ। कमला -ढल्केवर-पथलैया, वुटवल- गोरूसिङ्गे, काकडभिट्टा- लौकही, पथलैया- नारायणगढ र लमही-भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरु गरिनेछ। नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गरिनेछ। पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत इलाम, सुनसरी, गुल्मी, रोल्पा, सुर्खेत, कैलाली र डडेल्धुरा खण्डको निर्माण तथा स्तरोन्नतिका लागि २ अर्ब ४१ करोड विनियोजन गरेको छ ।

२०८३ भित्र सम्पन्न गर्ने गरी काठमाडौँ-तराई-मधेस द्रुतमार्गको निर्माण कार्य अगाडि बढाइएको छ। आगामी आर्थिक वर्ष ठेक्का लाग्न बाँकी खण्डको ठेक्काग व्यवस्थापन गरिनेछ।

राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटलाई ट्रयाक खोल्ने कार्य सम्पन्न गरी सडक सञ्जालमा जोडिनेछ। कर्णाली कोरिडोर अन्तर्गत खुलालु-सलिसल्ला खण्ड र हिल्सा-सिमिकोट खण्ड निर्माणका लागि ९७ करोड विनियोजन गरेको छ ।

कोसी कोरिडोरको निर्माण तथा स्तरोन्नतिका लागि ८० करोड विनियाेजन गरेकाे छ । अरुण कोरिडोरको चतरा-लेगुवा खण्डको निर्माण कार्य अघि बढाउन पनि बजेट व्यवस्था गरेको छ ।

अर्थमन्त्रीकै शब्दमा-

महाकाली कोरिडोरको बम्हदेव-झुलाघाट-दार्चुला र दार्चुला-टिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि रु ४५ करोड विनियोजन गरेको छु। सेती राजमार्गको टिकापुर-लोडे-चैनपुर र चैनपुर-तक्लाकोट खण्ड निर्माण गर्न रु ३० करोड विनियोजन गरेको छु। खुटिया-दिपायल-चैनपुर-उरैभन्ज्याङ्ग सडकलाई प्राथमिकताका साथ अघि बढाउन रु २५ करोड बजेट व्यवस्था गरेको छु। दैजी- जोगबुढा- डडेल्धुरा सडक स्तरोन्नतिको लागि रु ३० करोड रकम छुट्याएको छु।

भेरी कोरिडोर अन्तर्गत जाजरकोट-दुनै खण्डको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइनेछ। भेरी कोरिडोर आयोजनाका लागि रु. ५० करोड विनियोजन गरेको छु। राप्ती राजमार्गको दाङ-सल्यान-रुकुम खण्डको स्तरोन्नतिलाई तीब्रता दिन रु ९० करोड बजेट व्यवस्था गरेको छु। कोहलपुर-सुर्खेत र बुटवल-पाल्पा-पोखरा सडक खण्डको स्तरोन्नतिका लागि बजेट छुट्याएको छु।

११ किलो- छेपेटार- भालुस्वारा- वारपाक सडक निर्माण तथा स्तरोन्नति गर्न रु ८० करोड विनियोजन गरेको छु। डुम्रे- बेसीशहर- चामे मनाङ सडक स्तरोन्नति गर्न रु ३४ करोड विनियोजन गरेको छु।
लामो समयदेखि स्तरोन्नति हुन नसकेको पासाङ ल्हामु राजमार्गको तीनपिप्ले- रानीपौवा सडक खण्डको मर्मत तथा स्तरोन्नति कार्य आगामी वर्ष सम्पन्न गर्ने गरी रु. ५० करोड विनियोजन गरेको छु। यस राजमार्गको रानीपौवा- पिपलटार सडक खण्डको स्तरोन्नति कार्यको लागि बजेट व्यवस्था गरेको छु।

कटारी- घुर्मी सडकखण्ड स्तरोन्नतिका लागि बजेट व्यवस्था गरेको छु। तमोर कोरिडोरको सुवाङ खोला- गणेश चोक र ओलाङ्चुङगोला-तिम्तला खण्डको निर्माण कार्यलाई निरन्तरता दिन रू. ८० करोड विनियोजन गरेको छु।

नागढुंगा सुरुङमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्न रु. ५ अर्ब १३ करोड विनियोजन गरेको छु। नागढुंगा-नौविसे सडकखण्डको स्तरोन्नति कार्य सम्पन्न गरिनेछ। नौबिसे-मुग्लिङ्ग खण्डको २५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिका लागि रु. २ अर्ब १६ करोड छुट्टयाएको छु। मुग्लिङ्ग-पोखरा सडक खण्डको ५० किलोमिटर सडक विस्तार कार्य सम्पन्न गर्न रु. ५ अर्ब ४२ करोड विनियोजन गरेको छु।

राजमार्ग र रणनीतिक सडक अन्तर्गत १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिनेछ। पुल निर्माणका लागि रु. २ अर्ब ८ करोड व्यवस्था गरेको छु।

सूर्यविनायक-धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरेको छु। काठमाडौं चक्रपथको कलंकी-बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीब्रता दिन रु २ अर्ब ७ करोड छुट्टयाएको छु।
राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिनेछ। ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य सुरुवात गरिनेछ।

टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनको कार्य सम्पन्न भएको छ। विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन रु. १ अर्ब बजेट विनियोजन गरेको छु। सिद्धबाबा सुरुङ मार्गको निर्माण कार्यलाई तीब्रता दिइनेछ।