मुग्लिन–पोखरा सडक विस्तारका लागि भत्काइयो सहिद गेट

मुग्लिन–पोखरा सडक विस्तारका लागि भत्काइयो सहिद गेट

आगामी वर्षका लागि ५ अर्ब ४२ कराेड बजेट

रासस
78
Shares

काठमाडाैँ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटार चोकमा रहेको सहिद गेट भत्काइएको छ । पृथ्वी राजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त गेट भत्काइएको हो ।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिद गेट भत्काएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा (माओवादी) केन्द्रले उक्त सहिद गेट निर्माण गरेको थियो । सहिद गेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो ।

मुग्लिन–पोखरा सडकखण्डलाई ४ लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिनबाट पोखरासम्मको खण्डलाई २ भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ ।

मुग्लिन पोखरा सडक विस्तार : ५ अर्ब ४२ करोड विनियोजन

सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा ५ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए ।

मुग्लिनबाट पोखरासम्म सडक ४ लेनमा विस्तार गर्नका लागि काम भइरहेकामा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले २ खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा २५ र जामुनेबाट कोत्रेसम्मको पश्चिम खण्डमा ६.०५ प्रतिशत प्रगति हासिल भएको छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर कालोपत्रका लागि परीक्षण सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रै ७ किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।

आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीस्थित सडकमा २०० मिटर दुरीमा परीक्षण गरिएको सुवेदीले बताए । उनले भने, ‘यसको जाँच गर्ने काम सुरु भएको छ, यसको मोटाइलगायत पक्षको जाँचको प्रतिवेदन आएपछि कालोपत्र नै सुरु गर्ने तयारीमा छौँ ।’ वैशाखमै कालोपत्र गर्ने तयारी गरिए पनि प्राविधिक कारणवश ढिलाइ भएको उनको भनाइ छ ।

पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा ३ ठुला र ४ साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ वैशाखसम्म छ ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ भदौसम्म छ ।

२०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ ।

४ लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

यस्तै तनहुँको डुम्रेबाट मनाङको चामेसम्म सडक विस्तारका लागि बजेट विनियोजन गरिएको छ । डुम्रेबाट लमजुङको बेँसीसहर हुँदै मनाङको चामेसम्मको सडक विस्तारका लागि ३४ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेबाट बेँसीसहर हुँदै मनाङ पुग्ने उक्त सडकलाई २५ वर्षपछि २ लेनमा विस्तार गर्ने काम भइरहेको छ । यो सडकको दुरी तनहुँको डुम्रेबाट पाउँदीसम्म २४ किलोमिटर, पाउँदी–बेँसीसहर १८ किलोमिटर र बेँसीसहरबाट मनाङ सदरमुकामसम्म ६५ किलोमिटर छ ।

तनहुँको डुम्रेबाट २०२९ मा खन्न सुरु गरिएको सडक बेँसीसहरको ४२ किमीसम्म पुर्‍याउन डेढ दशक लागेको थियो । २०४६ मा ट्रयाक खुलेकामा २०५२ देखि सिंगल लेनको कालोपत्र गरिएको थियो ।