माल्दिभ्सका पर्यटनमन्त्रीले उद्घाटन गरे पोखराकाे फोटो प्रदर्शनी [फाेटाे फिचर]

माल्दिभ्सका पर्यटनमन्त्रीले उद्घाटन गरे पोखराकाे फोटो प्रदर्शनी [फाेटाे फिचर]


पोखरा ।

पर्यटकीय नगरी पोखरामा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)को ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनी सुरु भएको छ।

पोखरा ग्रान्डी होटलमा सुरु प्रदर्शनी माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह मौसुम र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले रिबन काटेर उद्घाटन गरे ।

प्रदर्शनीको उद्घाटन गर्दै माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले प्रदर्शनीमा फोटो पत्रकारहरूले खिचेका उत्कृष्ट फोटोहरू देखेर निक्कै नै खुसी लागेको बताए ।

‘म आज यहाँ उपस्थित हुँदा नेपालको सबै ठाउँ पुगेको जस्तो अनुभूति भएको छ,’ उनले भने । पर्यटन प्रवर्द्धनमा फोटोले महत्वपूर्ण भूमिका खेल्ने भन्दै नेपालका आकर्षक ठाउँहरूको फोटो अवलोकन गर्ने अवसर दिएकामा आयोजक एनएफपिजेलाई धन्यवाद दिए । एनएफपिजेले मन्त्री मौसुमलाई मायाको चिनो स्वरूप फोटो बुक पनि प्रदान गरेको छ ।

माल्दिभ्सका पर्यटनमन्त्रीसँगै दक्षिण एसियाका विभिन्न विशिष्ट व्यक्तिले उक्त प्रदर्शनी अवलोकन गरेका थिए ।

एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) सँगको सहकार्यमा आज मंगलबार सुरु प्रदर्शनी शुक्रबारसम्म चल्नेछ।

पाटाको वार्षिक शिखर सम्मेलन र एड्भेन्चर ट्राभल मार्टमा भाग लिन मन्त्री मौसुमसहित विभिन्न मुलुकका करिब १६० जना पाहुना, क्रेता र बिक्रेता गरी करिब २५० जना पोखरा आएका छन् ।

सम्मेलनमा सहभागी हुने राष्ट्रिय/अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरूबीच दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनलगायत विषयमा छलफल चल्नेछ ।

शिखर सम्मेलनमा विभिन्न देशका पर्यटन व्यवसायी सहभागी हुने भएकोले एकअर्का मुलुकबीचको पर्यटन सम्भावना र अवसरबारे अनुभव साटासाट गर्नेछन् । नेपालले तेस्रो पटक एडभेन्चर मार्ट र पहिलो पटक पाटा वार्षिक शिखर सम्मेलन आयोजना गर्न लागेको हो ।

 

 

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा खिचिएका उत्कृष्ट पर्यकीय र साहसिक फोटोहरू राखिएको आयोजक एनएफपिजेका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक सुनिल शर्माले जानकारी दिए । प्रदर्शनीमा करिब ३० फोटो पत्रकारहरूले खिचेका ६० भन्दा बढी फोटोहरू राखिएका छन् ।