पालिकाले दियाे विपन्न महिलालाई ढाका बुन्ने मेसिन

पालिकाले दियाे विपन्न महिलालाई ढाका बुन्ने मेसिन


गाेरखा ।
गोरखाको भीमसेन थापा गाउँपालिकाले अति विपन्न महिलालाई स्वरोजगार बनाउन तालिमसँगै ढाका बुन्ने मेसिन प्रदान गरेको छ । १६औँ गणतन्त्र दिवसको अवसरमा गाउँपालिकाले भीमसेन थापा लोककल्याणकारी कोषबाट सो मेसिन प्रदान गरेको हो ।
अति विपन्न रूपा सुनारलाई स्वरोजगार बनाउन ढाका बुन्ने मेसिन प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए । सुनारलाई गाउँपालिकाले ढाका बुन्ने तालिमसमेत निःशुल्क दिएको थियो । तालिम प्रदान गरी दक्ष बनाएर मेसिन उपलब्ध गराएको उनले बताए ।
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै पालिकामा लोककल्याणकारी कोष स्थापना गरेको छ । सोही कोषबाट  सुनारलाई आर्थिक आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले ढाका बुन्ने मेसिन उपलब्ध गराएको हो ।
लामो समयदेखि आर्थिक अवस्थाका कमजोर भएका कारण दैनिक गुजारा चलाउन समस्या भएपछि सुनारलाई गाउँपालिकाले तालिम दिएर आयआर्जन गर्न सक्ने बनाएको थियो ।
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि स्थानीय सरकारको प्रत्याभूति गराउने गरी विशेष बहुप्रकोपीय बिमा कार्यक्रममा आबद्ध गराउन तथा अशक्त, असहाय तथा विपन्नको हकमा विशेष अभियान सञ्चालन गर्न कोषको स्थापना गरेको थियो ।
कोषमा पहिलो गाउँपालिका अध्यक्षले आफ्नो पहिलो महिनाको सेवा सुविधाबाट आएको रकम उपलब्ध गराएर कोषको औपचारिक स्थापना गरेका हुन् ।