हसन्दह सिँचाइ नहरको डिपिआर बन्याे

हसन्दह सिँचाइ नहरको डिपिआर बन्याे

विकास टाइम्स
0
Shares

विराटनगर । बक्राहा खोलाले भत्काएको हसन्दह सिँचाइ नहरको डिपिआर सम्पन्न भएको छ । ४ वर्षअघि २०७६ मा बक्रा खोलामा आएको बाढीले नहर भत्काएसँगै नहर बन्द भएको थियो ।

नहर बन्ने भएसँगै स्थानीयमा खुसी छाएको छ । बक्रा खोला हसन्दह सिँचाइ उपभोक्ता समितिको पहलमा नहरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भएको हो ।

पथरी शनिश्चरे नगरपालिका–५ र ६ को एकमात्र पैनी विसं २०७६ मा बक्रा खोलामा आएको बाढीले भत्काएको थियो । आठ सय ३० दशमलव ४२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन सिँचाइलाई ऊर्जा तथा जलस्रोत मन्त्रालय र सिँचाइ डिभिजन कार्यालय मोरङको सहयोगमा नहरको डिपिआर सम्पन्न भएको हो ।

नहर अति जीर्ण भएको र नरहमा ९-१० शाखा पैनी (कुलो)को डिपिआर सम्पन्न भएको सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर हिरा शाहले बताए । शाहले लागत अनुमानका आधारमा बजेट विनियोजन भई जेठबाट काम अघि बढ्ने बताए ।

उर्लाबारी नगरपालिका–३ मा रहेको बक्रा खोलाबाट सुनवर्शी नगरपालिका–२ सुगाँबजारसम्म पुग्ने लगभग नौ किलोमिटर नहरमा ९-१० शाखा पैनी रहेको समितिका सचिव वेदराज खतिवडाले जानकारी दिए ।

पथरी शनिश्चरे–५ र ६ कृषियोग्य जमिन हो । बक्रा खोलामा आएको बाढीका कारण पैनी भत्किएपछि सिँचाइमा अवरुद्ध भएको छ । पैनी अवरुद्ध भएका कारण धेरै जमिन बाँझो छ । किसानले सिँचाइका लागि आकाशको भर पर्नुपर्ने र बोरिङको साहारामा सिँचाइ गर्नुपरेको छ । नहरबाट पथरी शनिश्चरे–५ र ६ का ९० प्रतिशत किसान लाभान्वित हुने समितिका उपाध्यक्ष ध्रुव थापाले बताए ।

ऊर्जा तथा जलस्रोत मन्त्रालयको रु २० लाख लगानीमा सिँचाइ डिभिजन कार्यालयले हसन्दह मूल पैनीको जीर्ण रहेको स्थानमा मर्मत कार्यसमेत सुरु गरेको छ । वर्षौंदेखि पैनी समस्याका कारण खेती गर्नबाट बञ्चित कृषक पनि उत्साहित बनेका छन् । निर्माण योजनाले समयमै सफलता पाए पथरी शनिश्चरे–५ र ६ का आठ सय ३० दशमलव ४२ हेक्टरका कृषक लाभान्वित हुने छन् ।