मन्त्रीलाई भेटेर बालेनकाे चेतावनी : तपाईंहरूले कारबाही नगरे अस्पताल प्रशासन बन्द गर्छाैँ

मन्त्रीलाई भेटेर बालेनकाे चेतावनी : तपाईंहरूले कारबाही नगरे अस्पताल प्रशासन बन्द गर्छाैँ


काठमाडौँ ।

काठमाडौँ महानगरपलिकाका मेयर बलेन्द्र शाह ‘बालेन’ले कानुनबमोजिम निःशुल्क उपचार नगर्ने महानगरभित्रका ६८ अस्पताललाई कारबाही गर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ तथा जनसंख्यामन्त्री महोनबहादुर बस्नेतलाई भेटेर मेयर बालेनले ध्यानाकर्षण गराएका हुन् । महानगरभित्र सञ्चालित सबै अस्पतालले विपन्न एवं लक्षित वर्गका नागरिकलाई कुल शैयाको १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउन महानगरपालिकाले निर्देशन दिएको थियो ।

तर, महानगरपालिकाको निर्देशन कार्यान्वयन गर्न अस्पताल मानिरहेका छैनन् । सोही बिषयबारे ध्यानाकर्ष गराउन स्वास्थमन्त्री बस्नेतलाई भेट्न मेयर बालेन मन्त्रालय पुगेका हुन् ।

भेटका क्रममा कानुनबमोजिम निःशुल्क उपचार नगराउने ६८ अस्पतालको विवरण प्रमुख बालेनले मन्त्री बस्नेतलाई बुझाएका थिए । अटेर गर्ने अस्पताललाई कारबाही गर्न समेत उनले माग गरेका छन् ।

भेटवार्ताबारे बालेनले सामाजिक सञ्जालमा भनेका छन्, ‘स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधासम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ ।’

यदि मन्त्रालयले कारबाही नगरे त्यस्ता अस्पतालकाे प्रशासन महानगरले नै बन्द गर्ने चेतावनी बालेनले दिएका छन् ।

महानगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार विपन्न एवं लक्षित वर्गलाई कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गराउन गत ६ जेठमा निर्देशन दिएको थियो ।