असारबाट मुग्लिनकाे सडकमा थप सहज हुँदै, ३ वटा पुल यही महिना बनिसक्ने

असारबाट मुग्लिनकाे सडकमा थप सहज हुँदै, ३ वटा पुल यही महिना बनिसक्ने

कात्तिकसम्म सबै पुल बनाएर सञ्चालन गर्ने तयारी


काठमाडौँ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधीन ३ नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा छन् ।

नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र बालुवा पुल यसै महिनाबाट सञ्चालनमा आउने गरी काम भइरहेको छ ।

सेतीदोभानको पुलमा रङ लगाउन र बाह्य भागमा रेलिङ राख्न बाँकी छ । डुम्रे र बालुवा पुलको सबै भागमा रेलिङ, कालोपत्र र रङ्ग लगाउन बाँकी रहेको छ । कार्कीले भने, ‘सबै काम सकेर जेठ मसान्तभित्रमा ३ वटै पुल सञ्चालन गर्ने योजना छ ।’

अन्य ४ पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ । पुल बनाउने ठाउँको पहाड विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु भएको छैन । मुआब्जा वितरण गरेर खहरे खोलाको पुलको काम सुरु भएको छ । कार्कीका अनुसार तुइन खोलाको पुलबाहेक अन्य बाँकी रहेका पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

तुइन खोलाको पुल निर्माण गर्ने ठाउँको ढिस्को विस्फोटको प्रक्रियामा छ । यो पुलको भने टुंगाे लाग्न सकेको छैन । कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको १ वर्षको समय यही २०८० सालको पुस मसान्तसम्ममा सकिँदै छ ।

२०७६ चैतमा १ अर्ब २७ करोड रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । ३ वर्षका लागि २ प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।

नक्सांकनसहित पुल निर्माणका लागि ठेक्का लगाइएको हो । निर्धारित समयमा काम नसकिएपछि १ वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ ७.५ मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर ९ देखि ११ मिटर फराकिलो छ ।

केही पुल भौगोलिक कारणले ९ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । पुल निर्माण गरिने ठाउँमा २६ टहरा छन् । ती टहरालाई मुआब्जा दिएर व्यवस्थापन गर्ने काम भइरहेको छ । सबै घरटहरा व्यवस्थापन गर्दा ९७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । हालसम्म १६ घरटहराको मुआब्जा दिएर हटाइसकिएको छ ।

सो सडक खण्डका ४ पुल यसअघि नै निर्माण गरी सञ्चालनमा आएका छन् । सडकखण्ड विस्तार गरेसँगै पुराना पुल भएका ठाउँमा नयाँ पुल निर्माण सुरु गरिएको हो । यसै सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन हुने गर्छन् ।