बागलुङ बजारकाे तिर्खा मेटाउँदै काठेखाेला, लिफ्टिङ आयाेजनाकाे परीक्षण सुरु

बागलुङ बजारकाे तिर्खा मेटाउँदै काठेखाेला, लिफ्टिङ आयाेजनाकाे परीक्षण सुरु


बागलुङ ।

लामो समयको प्रतीक्षापछि काठेखोलाको पानी बागलुङ बजारमा वितरण गर्ने गरी सञ्चालनमा रहेको योजना ‘बागलुङ नगर सहलगानी (लिफ्टिङ खानेपानी) आयोजनाको परीक्षण सुरु भएको छ।

गत आइतबारदेखि निर्माण व्यवसायीले काठेखोलाको पानी शुद्धीकरण स्थल र शुद्धीकरण स्थलबाट वितरण ट्यांकीसम्म पानी तानेर परीक्षण सुरु गरेको हो ।

आयोजना निर्माण गरिरहेको कम्पनी कन्काई जयमाता जेभीका इन्जिनियर विक्रम अधिकारीका अनुसार लिफ्टिङमा आउन सक्ने समस्या, वितरण ट्यांकीसम्मको पाइपलाइन, पानी शुद्धीकरण स्थल र अन्य प्राविधिक विषयको परीक्षण थालिएको छ।

परीक्षण सफल भएमा आगामी १ महिनाभित्र आयोजना हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीले तयारी गरिरहेको छ। आयोजनाको अनुगमन तथा सुपरीवेक्षण गरिरहेको संघीय खानेपानी आयोजना बेनी म्याग्दी र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रत्यक्ष निगरानीमा परीक्षण थालिएको अधिकारीले बताए।

परियोजनाको बागलुङ नगरपालिका-३ काठेखोला किनारदेखि पानी प्रशोधन केन्द्र रहेको कैलाम पोखरीसम्म र कैलाम पोखरीदेखि वितरण ट्यांकीसम्म छुट्टाछुट्टै परीक्षण भइरहेको छ। आयोजनाको परीक्षण सुरु भएसँगै बागलुङ बजारमा शुद्ध खानेपानी आउने छिट्टै वितरण सुरु गर्ने तयारी रहेको संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।

लामो समयदेखि अलपत्र आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै आयोजना सम्पन्न हुन नसकेको हो। २ वर्षमा आयोजना सक्ने गरी २०७५ साल असार ३१ गते कन्काई जयमाता जेभीले निर्माणको जिम्मा लिएको थियो।

निर्माण कम्पनीको ढिलासुस्तीले ३ पटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो । लिफ्ट आयोजनाले बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टिङमार्फत रातमाटामा तानेर शुद्धीकरण गरेर वितरण गर्ने गरी काम भइरहेको हो।

३२ करोड २५ लाख रुपैयाँको लागतमा कन्काई जयमाता जेभीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना महामारी, आयोजना निर्माण स्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीले बताउँदै आएका थिए।

पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफर्मर जडान भइसकेको छ। पानी जम्मा गर्नका लागि काठेखोला किनारमा ५ वटा व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि ९ वटा र वितरणका लागि दुइटा ट्यांकी तयार भएका छन् भने खोला किनारका इनारदेखि वितरण ट्यांकीसम्म पाइपलाइनको पनि परीक्षण भइरहेकोे इन्जिनियर अधिकारीले बताए ।

अहिले बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आइएको छ। बागलुङ बजारमा खानेपानीको समस्या देखिँदै आएपछि बागलुङ जिल्लाकै ठुलो लिफ्ट आयोजना निर्माण थालिएको थियो । डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो।

सहलगानी आयोजना सुरु हुँदा नेपाल सरकारले सञ्चालन गरेको (लिफ्टिङ खानेपानी) सहलगानी आयोजना नेपालकै सबैभन्दा ठुलो आयोजनाका रूपमा रहेको यो आयोजना सम्पन्न भए बागलुङवासीलाई चोबिसै घन्टा पानी उपलब्ध हुन सक्छ । आयोजनामा नेपाल सरकारको ७० र उपभोक्तको ३० प्रतिशत लगानी छ।

आयोजनाले काठेखोलाबाट प्रतिसेकेन्ड ७० लिटर पानी तान्ने योजना छ। प्रतिसेकेन्ड ४० देखि ५० लिटरसम्म पानीको माग रहेको बागलुङ बजारका झन्डै ४ हजार धारामा यस आयोजनामार्फत चौबिसै घन्टा पानी खसाल्ने लक्ष्य रहेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।