…अनि सललऽऽऽ बग्छ कञ्चन बाग्मती

…अनि सललऽऽऽ बग्छ कञ्चन बाग्मती

करिडोर निर्माण तथा नदी सफाइका लागि २० वर्षीय गुरुयोजना बनाइँदै


काठमाडौँ ।

बाग्मती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले २० वर्षीय गुरुयोजना बनाइने भएको छ ।

सन् २०४३ सम्म बाग्मतीलाई सफा बनाएर त्यसको दुवैतर्फ करिडोर सडक निर्माणको योजना बनाइएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

गुरुयोजनाका लागि खाका (ड्राफ्ट) बनेको र त्यसलाई अन्तिम रूप दिनका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल भइरहेको समितिका इन्जिनियर कमल अर्यालले बताए । यस वर्ष अन्तिम रूप दिइने गरी तयारी अघि बढाइएको उनको भनाइ छ ।

उनले भने, ‘अबको २० वर्षमा बाग्मतीमा बाँकी रहेका सबै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।’ गुरुयोजना अनुसार बाग्मतीको पानी सफा गर्ने, दुवैतर्फ ढल, करिडोर निर्माण गर्ने, यसका सहायक र उपसहायक नदी सफा गरिनेलगायत विषय समेटिएका समितिले जनाएको छ ।

ठोस फोहोरमात्र नभई तरल फोहोर पनि व्यवस्थापन गर्न जरुरी रहेकाले तरल फोहोर व्यवस्थापनका क्षेत्रमा पनि काम गरिने समितिका इन्जिनियर अर्यालले बताए । उनका अनुसार तरल फोहोर व्यवस्थापनका लागि ढल निर्माण गर्नुपर्ने भएकाले नदी किनारामा ढलको लाइन बिच्छ्याइने छ ।

‘ढलको लाइनलाई प्रशोधन केन्द्रमा लगेर प्रशोधन गरेपछि सफा भएको पानी मात्रै खसाल्ने योजना छ’, अर्यालले भने । उनले यो काम कतिपय नदीमा भइरहेकाले बाँकी नदीमा पनि अघि बढाइने बताए ।

समितिले अहिले उपत्यकाका ११ खोलामा तरल फोहोर व्यवस्थापनको काम गरिरहेको छ । बाग्मतीसँग जोडिने सहायक खोला तथा सहायक खोलासँग जोडिएका उपसहायक खोलामा काम भइरहेको इन्जिनियर अर्यालले बताए ।

उनका अनुसार ती सबै खोला बाग्मतीमा मिसिने हुँदा सबैमा काम गरिएको हो । उपत्यकामा विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचा, बल्खु, मच्छे खोला, महादेव खोला र मनोमती खोला, नख्खु, कर्मनाशा, हनुमन्ते खोला छन् ।

ती सबै खोला तथा सहायक खोला सफा बनाउन दुवैतर्फ ढलको लाइन बिच्छाउने इन्जिनियर अर्यालले बताए । करिडोर बनाउने, तटबन्ध निर्माण गर्ने, बाँध बनाउने, नदी किनारामा रहेका मठमन्दिरको पुनर्निर्माण पनि गरिने उनको भनाइ छ ।

बाग्मतीमा मिसिने खोलाहरूमा फोहोर पानी प्रशोधनको काम हुन बाँकी रहेको इन्जिनियर अर्यालले बताए । ‘विष्णुमतीमा ढलको लाइन बिच्छाइएको भए पनि विष्णुमती र बाग्मती मिसिएको ठाउँमा ५०० मिटरमाथि जाँदा दाहिनेतर्फ मनोमती खोलाबाट ढल आइरहेको छ’, उनले भने ।

१३ किमी लम्बाइको उक्त खोलामा दुवैतर्फ १३/१३ गरी २६ किमी ढलको लाइन नजोड्दासम्म खोला सफा नहुने इन्जिनियर अर्यालले बताए । उनले भने, ‘मनोमतीसँग जोडिने ससाना खोल्साहरू जुनमा तल ढल बग्छ र माथि गाडी गुड्छन् । त्यसलाई पनि व्यवस्थित नगर्दासम्म बाग्मती सफा हुँदैन ।’

सरकारले २०६६ मा ५ वर्षको बाग्मती कार्ययोजना बनाइएको थियो । अहिले सोही कार्ययोजनालाई परिमार्जित गरेर २० वर्षे गुरुयोजना बनाउन लागिएको समितिले जनाएको छ ।