बालेनकाे चेतावनीपछि अस्पताललाई मन्त्रालयकाे ताकेता

बालेनकाे चेतावनीपछि अस्पताललाई मन्त्रालयकाे ताकेता


काठमाडाैँ

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहकाे चेतावनीपछि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्यामा तोकिएका वर्गलाई निःशुल्क उपचारको व्यवस्था गर्न सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूलाई पुनः ताकेता गरेको छ ।

मन्त्रालयले बुधबार ताकेता परिपत्र गर्दै स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ अनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्ट्याएर निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्न भनेको हाे ।

बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बडापत्र अस्पतालमा देखिने गरी नराखेको, अस्पतालमा पार्किङ शुल्क लिने गरेको र कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको पाइएको भन्दै मन्त्रालयले सचेत गराएको छ ।

आजै बिहान मेयर बालेनले स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेटेर १ साताभित्र स्वास्थ्य मापदण्ड पूर्ण पालना नभए अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका थिए ।

यसैबीच, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न पनि निर्देशन दिएका छन् । काठमाडौँ महानगरपालिकाले विश्व धुम्रपानरहित दिवस २०८० को अवसरमा बुधवार आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रमा मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन् ।

उनले अस्पतालमा आइसियु, इमर्जेन्सी वा सिसियु बेड के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत् सार्वजनिक गर्न निर्देशन दिएको बताए ।