सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे

सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे

विकास टाइम्स
0
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लानुपर्ने बताएका छन् ।

ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित तीन दिने तालसम्मेलनको आज यहाँ शुभारम्भ गर्दै उनले तालतलैयाको संरक्षणसँगै यसलाई आयआर्जनको स्रोतको रुपमा विकास गरेर जीविकोपार्जनसँग जोडेर लैजानुपर्दछ भने । मुख्यमन्त्री पाण्डेले जङ्गलमा काठ कुहिएर जाने विदेशबाट काठ आयात गर्नुपर्ने अवस्थाले अर्थतन्त्रमा असर पारेको जनाउँदै अब यसतर्फ सोच्नुपर्ने बेला आएको बताए ।

उनले पोखराको सुन्दरतासँगै तालतलैयाको संरक्षणका लागि सबैको साझा सोच र उद्देश्य अनुरुपको कार्यमा सहकार्य र समन्वयको आवश्यतामा जोड दिए । उनले भने,‘‘अब देखिने, सुनिने र बोलिने विकासको नीति अवलम्बन गर्नुपर्छ, प्राकृतिक सम्पदाको संरक्षण सम्बद्धनसँगै सीमित स्रोत–साधनको अधिकतम उपयोग गरेर जीविकोपार्जनसँग जोड्ने अबका कार्यक्रम तय गरिनुपर्छ ।”

कार्यक्रममा पोखरा महानगरापालिकाका प्रमुख धनराज आचार्य पोखराको पहिचान र सुन्दरता भनेको तालतलैया रहेको र यसको संरक्षण र सम्बद्धनका लागि महानगरबाट नीतिगत पहलसँगै योजना तय भएको बताए । उनले पोखराका आठ ताल जोड्ने, साइकल ट्रेल, फुट ट्रेल, वाटर स्पोटसलगायतका कार्ययोजना रहेको सुनाए।

उनले एसियाली विकास बैंकसँग पोखराको वृहत्तर विकासका लागि वृहत्तर परियोजनाका कार्य सम्झौता भएको जानकारी दिए । तालप्राधिकरणका उपाध्यक्ष नवराज ओझाले प्राकृति सम्पदाको संरक्षण र सम्बद्र्धनका लागि स्वार्थभन्दामाथि उठेर काम गर्नुपर्ने बताए । उनले विकासका नाममा भएका विनाशले रामसार सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय महत्व बोकेका तालतलैया सिमसार पुरिँदै मासिँदै गएकाले अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ भने ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवम् कार्यक्रमका संयोजक डा कल्पनादेवी देवकोटाले पोखरा उपत्यकाको नौ तालहरुको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गदै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य गर्ने उद्देश्य रहेको बताए ।

वन विज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख प्राध्यापक विनोदप्रसाद हेज्यूले ताल व्यवस्थापन सुधार गर्न आवश्यक कदम पहिचान गर्ने र आवश्यता सम्बोधन गर्न अनुसन्धान र सहकार्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । बुधबारबाट सुरु भएको सम्मेलनमा पहिलो दिन काठमाडौँ विश्वविद्यालयका डा रामदेवी तचामो, लिवर्डका डा बलराम थापालगायतका विषयगत विज्ञको प्रस्तुति रहेको थियो । झण्डै १२ विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका विषयविज्ञको प्रस्तुति रहने र तालहरुको भ्रमणसहित सरोकारवालासँग अन्तक्रिया गरेर सम्मेलन सकिने संयोजक डा देवकोटाले जानकारी दिए । उनका अनुसार सम्मेलनमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरा तथा काठमाडौँं विश्व विद्यालयको पनि साझेदारी रहेको छ ।