चन्द्र ढकालकाे छलाङ : तेस्राे केबलकार लुम्बिनीमा

चन्द्र ढकालकाे छलाङ : तेस्राे केबलकार लुम्बिनीमा

प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन


काठमाडाैँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । उनले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरेका हुन् ।

बुटवल उपमहानगरपालिका– ३, गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म करिब ३ किलोमिटर दुरीको सो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।

लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपीपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ ।

यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना सुरु गरिएको थियो । सप्ताहव्यापी पूजा आराधनामा भारत गुहावटी र नेपालका ११ पण्डितले धार्मिक प्रवचन दिएका थिए ।

वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

यसअघि केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । सम्झौता अनुसार लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम ती २ पालिकाका लागि छुट्याउने छ ।

आइएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गैंडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको जानकारी दिएका छन् ।

उनले भने, ‘लुम्बिनी केबलकार संघीय सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारसहित स्थानीय दाजुभाइ तथा दिदीबहिनीको सामूहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको छौँ ।’

रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्‍याउने विश्वास गरिइएको छ । अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आमजनताको चाहनालाई पूरा गर्न यो परियोजना कोशेढुङ्गा सावित हुने आशा लिएको बताए ।

उनले केबलकार धार्मिक पर्यटन ‘सर्किट’ निर्माणको नयाँ अभियानको पनि घोषणा गरेका छन् । यस सर्किटअन्तर्गत बुटवलको लुम्बिनी केबलकारबाट धार्मिक यात्रा सुरु गर्‍याे भने यही बाटो हुँदै मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरि, कालिञ्चोक हुँदै पाथिभरासम्म पुग्न सकिने अवस्था सिर्जना गर्न सकिने जानकारी दिए ।

लुम्बिनी केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत करिब ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ ।

टप स्टेसनमा पर्यटकका लागि ‘रेस्टुरेन्ट’ बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जिपलाइन निर्माणका क्रममा छन् । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ गोन्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको जनाइएको छ । बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ ।

खास गरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले जानकारी दिए । केबलकार सञ्चालनमा आएसँगै ‘टप स्टेसन’मा साढे ३ अर्ब लागतमा पाँचतारे होटललगायत संरचना निर्माण हुनेछन् ।