धवलागिरि गाउँपालिकामा ३ वटा खानेपानी याेजना सम्पन्न

धवलागिरि गाउँपालिकामा ३ वटा खानेपानी याेजना सम्पन्न


म्याग्दी ।

म्याग्दीको धवलागिरि गाउँपालिकामा करिब १ करोड रुपैयाँ लागतमा एक घर एक धाराको सुविधा भएका ३ वटा खानेपानी आयोजना निर्माण भएका छन् ।

नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरि गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५ को मल्कवाङ, भेडिखाल्टा र वडा नम्बर ६ को बेँशी पन्थोकमा आयोजना निर्माण गरिएकाे हाे ।

नेवाका प्राविधिक निरीक्षक रामबहादुर बुढाले ९४ लाख ९ हजार ८०२ रुपैयाँ लागतमा निर्माण भएको आयोजनाबाट १५३ घरधुरी लाभान्वित भएका छन् ।

‘घरघरमा मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्ष २०८०/८१ मा धवलागिरि–२ खोरिया र लमसुङमा दुइटा खानेपानी आयोजना बनाउन सर्वेक्षण भएको छ ।’

५७ लाख ६२ हजार ८०३ रुपैयाँ लागतमा निर्माण भएको मल्कवाङ खानेपानी आयोजनाबाट ८५ धरधुरी लाभान्वित भएका छन् । छहराको मुहानबाट पानी ल्याएर मल्कवाङमा ४९, होपाटोलमा ३८ घर, वडा, विद्यालय र स्वास्थ्य चौकीमा १/१वटा धारा बनाएर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रोजबहादुर छन्त्यालले जानकारी दिए ।

‘घरघरमा धारा बनाएर पानी वितरण गरेपछि समयको बचत, सुविधा र जनजीवन सहजका भएको छ,’ उनले भने ‘यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामा पर्याप्त पानी नआउँदा समस्या भएको थियो ।’ यसका लागि उपभोक्ताले प्रतिघर ४५ दिनका दरले श्रमदान गरेका थिए ।

सोही वडाको भेडिखाल्टामा नेवाको १० लाख ५४ हजार ८७८, धवलागिरि गाउँपालिकाको ६ लाख ९४ हजार ८८२ अनुदान र उपभोक्ताको ४ लाख २३ हजार ७६९ बराबरको श्रमदानमा अर्को खानेपानी आयोजना निर्माण भएको छ । सो आयोजनाबाट ३९ वटा घरधुरी रहेको भेडिखाल्टामासँगै जोडिएका दुइटा घरले एउटा धारा प्रयोग गर्ने गरी ३४ वटा धारा बनाइएको वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिए ।

यसैगरी धवलागिरि गाउँपालिका–६ मा १४ लाख ७३ हजार ४७० को लागतमा निर्माण भएको बेँसी पन्थोक खानेपानी आयोजनाबाट २९ वटा घरधुरीका २१२ जनसङ्ख्या लाभान्वित भएका छन् ।

जनविकास आधारभूत विद्यालय र प्रगति युवा क्लबको भवनमा पानी वितरण गर्न निजी धारा जडान गरिएको छ । नेवाको ७ लाख ७७ हजार ९२, गाउँपालिकाको ३ लाख ९९ हजार ४७५ अनुदान तथा उपभोक्ताको ३३ हजार ४५९ नगद र २ लाख ४४४ बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो ।

आँँगनकै धारामा नियमित स्वच्छ खानेपानी आपूर्ति हुन थालेपछि सुविधाका साथै पानीका लागि खर्चनुपर्ने समय बचत भएको स्थानीय भूमिका गर्बुजाले बताइन् । आगामी वर्ष मालिका गाउँपालिकामा ६ वटा र मंगला गाउँपालिकामा ३ वटा खानेपानी आयोजना निर्माण गर्न लागिएको नेवाले जनाएको छ ।