आइपिओ जारी गर्दै आइएमई लाइफ

आइपिओ जारी गर्दै आइएमई लाइफ


काठमाडौँ ।

आइएमई लाइफ इन्स्याेरेन्सले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आइपिओ निष्कासन गर्न लागेको हो ।

इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपिओ जारी गर्न लागेको हो । सोमध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको छ ।

त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारीहरू र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्स्याेरेन्सको आइपिओलाई ‘केयरएनपी ट्रिपल बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपिओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक छ ।