अब दूधकाेसीले मेटाउनेछ काकाकुल हलेसीकाे तिर्खा

अब दूधकाेसीले मेटाउनेछ काकाकुल हलेसीकाे तिर्खा


खाेटाङ ।

सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकाेसीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा-२ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक पुर्‍याइएको हो ।

दूधकाेसीबाट १५० एमएमको फलामे पाइपमार्फत ४ हजार ५०० मिटर माथि रहेको भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख इन्जिनियर हिराकाजी महर्जनले जानकारी दिए ।

‘दूधकाेसीबाट ६ लिफ्ट ट्यांकी हुँदै भुम्जुडाँडामा बनाइएको सातौँ ट्यांकीमा पानी पुर्‍याउन सफल भइएको छ । भुम्जुडाँडामा पानी निकाल्ने प्रयासको सफल परीक्षण भएसँगै स्थानीयमा उत्साह जगाएको छ,’ उनले भने, ‘दूधकाेसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरी उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको छ । अब त्यो लक्ष्य चाँडै पूरा हुने अवस्थामा पुगेको छ ।’

बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाका लागि नदी किनारमा ३ लाख क्षमताको एउटा र भुम्जुडाँडामा ४ लाख लिटर क्षमताको ३ वटा ट्यांकी बनाइएकाे छ । त्यसको बीच भागमा पर्ने विभिन्न ५ ठाउँमा १–१ लाख लिटर क्षमताका लिफ्ट ट्यांकी निर्माण गरिएको जनाइएको छ ।

दूधकाेसीको पानीलाई डिकुवाको भुम्जुडाँडा र वडा-७ महादेवस्थानको काभ्रेडाँडामा पुर्‍याएर वितरण गर्ने लक्ष्यका साथ २०७४ सालदेखि लिफ्टिङ खानेपानी आयोजनाको काम अघि बढाइएको थियो । दूधकाेसीको लुलिमाबाट भुम्जुडाँडा र महादेवबेँसीबाट काभ्रेडाँडामा लिफ्ट गरेर पानी पुर्‍याएर मेनलाइनको ठेक्का दिवा–महादेव–खिम्ती जेभीले धमाधम गरिरहेको छ ।

महादेवबेँसीबाट काभ्रेडाँडामा पानी पुर्‍याउनका लागि पम्प जडानको काममात्र बाँकी रहेको आयोजना प्रमुख महर्जनले बताए ।

भुम्जुडाँडामा पुर्‍याइएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरणलाइनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन–सगरमाथा–घिमिरे जेभीले लिएको छ ।

हलेसी बृहत् पम्पिङ खानेपानी आयोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)मा ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र)का स्किम छुट भएकाले पुनः स्टिमेट गरेर मन्त्रालय पठाइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख महर्जनका अनुसार ट्रिटमेन्ट प्लान्टका लागि जग्गा व्यवस्था गरेर १९ करोड ९५ लाख रुपैयाँ लागत अनुमान पेस गरिएको हो ।

दूधकाेसीको पानी तानेर सीधै उपभोग गर्न उपयुक्त नहुने भएकाले लागत अनुमान अनिवार्य गर्नुपर्ने अवस्था आएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताए ।

‘लागत अनुमान प्लान्ट स्थापनाका लागि लिलिमाबेँसी र महादेवबेँसीमा ९/९ रोपनी जग्गा व्यवस्था गरिएको छ,’ हलेसी तुवाचुङ नगरपालिकाका पूर्व नगर प्रमुखसमेत रहेका अध्यक्ष राईले भने, ‘हाम्रो नगरपालिकाका ११ वटै वडाका स्थानीय बासिन्दाले खानेपानीको समस्या भोग्दै आएका छन् । ढिलै भए पनि दूधकाेसीको पानी पम्पिङ गरेर पाइप लाइनमार्फत् स्थानीय बासिन्दाको घरघरमा वितरण गर्ने गरी बृहत् खानेपानी आयोजनाको काम सफल हुँदै जाँदा उनीहरूसमेत हर्षित छन् ।’

संघीय खानेपानी मन्त्रालयको ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्ने गरी ५ वर्षअघि निर्माण सुरु गरिएको उक्त बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम ९० प्रतिशत पूरा भएको जनाइएको छ । पाइपलाइनको काम उपभोक्ता आफैँले गर्नुपर्ने भएकाले मेन लाइनको पानी सफलतापूर्व निस्किएपछि स्थानीय बासिन्दा आ–आफ्नो क्षेत्रमा पाइपलाइनको काम गरिरहेका छन् ।

बर्सातको समयमा घरको छानामा पाइप जडान गरेर जम्मा भएको पानी उपभोग गर्ने हलेसी क्षेत्रका स्थानीय बासिन्दा हिउँदको समयमा घटौँ लगाएर दूधकाेसीबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका छन् । कतिपय स्थानीय बासिन्दाले ट्र्याक्टर तथा ट्रकमार्फत ड्रममा भरेर दूधकाेसीकै पानी ल्याएर उपभोग गर्ने गरेका छन् ।