बाङखुवा खोलामा बन्याे पुल, फेरियाे स्थानीयकाे दैनिकी

बाङखुवा खोलामा बन्याे पुल, फेरियाे स्थानीयकाे दैनिकी


भाेजपुर ।

षडानन्द नगरपालिकामा पर्ने याकुवा खोला र नखुवा दोभान बाङखुवा खोलामा पक्की पुल निर्माण भएको छ । कोसी प्रदेश सरकारको ३ करोड १९ लाख रुपैयाँ लागतमा गत फागुनमा पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

वडा-१२ र १४ जोड्ने यो खोलामा २०७६ सालबाट पुल निर्माण सुरु गरिएको थियो । पुल तोकिएको मापदण्डानुसार निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोले बताए ।

‘बाङखुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ,’ प्रमुख महतोले भने, ‘तोकिएको मापदण्डानुसार गुणस्तरीय ढंगले निर्माण भएको छ । यसले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुगेको छ ।’

२५ मिटर लामो उक्त पुल गोल्डेन गुड शेर्पा निर्माण कम्पनीले बनाएको कार्यालयले जनाएको छ ।

त्यस्तै सोही स्थान जनिकै बनिरहेको याकुवा खोला, नखुवा दोभान गङ्खुवा पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ । उक्त पुल प्रदेश सरकारको ५ करोड ४१ लाख लागतमा निर्माण भइरहेको प्रमुख महतोले बताए ।

५० मिटर लम्बाइ रहेको २ स्पानमा बन्ने पुलको एउटा स्पानको ढलान सम्पन्न भएको महतोको भनाइ छ । ‘यी २ पुलको काम एउटै निर्माण कम्पनीले गरिरहेको छ,’ उनले भने, ‘यो पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ । आगामी असोज महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।’

अरुण गाउँपालिका क्षेत्रमा जग्गा विवाद भएको कारण काममा केही ढिला भएको उनले बताए ।

गङ्खुवा खोला पुल तोकिएको अवधिमा सम्पन्न गर्ने निर्माण कम्पनी गोल्डेन गुड शेर्पाका प्रोजेन्ट म्यानेजर पेम्बा शेर्पाले बताए । आगमी असोजसम्म सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ ।