कावासोतीमा सदरमुकाम बनाउने ३अर्ब ६८ करोडको बहुवर्षीय आयोजना अलपत्र

कावासोतीमा सदरमुकाम बनाउने ३अर्ब ६८ करोडको बहुवर्षीय आयोजना अलपत्र


नवलपरासी  ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माणको काम सुरु गर्ने विषयमा अन्योल बढ्दै गएको छ ।

जिल्लाको सदरमुकाम कावासोतीमा रहेको १८७ बिघा जग्गामा संघ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको योजना सुरु गर्ने विषयमा नै अहिले अन्योल सिर्जना भएको छ । काम कहाँ कसरी सुरु गर्ने भन्ने विषयमा नै अहिले अलमल भएको छ ।

२०७६ वैशाख ७ गते नमुना सदरमुकाम निर्माणको योजना अघि बढेको थियो । करिब १६ अर्ब रुपैयाँ लागतमा नमुना सदरमुकाम निर्माण गर्ने योजना थियो । तर भवन निर्माण कुन ढंगबाट अघि बढाउने अझै अन्योल रहेको जनाइएको छ ।

सुरुमा एकीकृतरूपमा सबै कार्यालयको सेवा एकै स्थानबाट दिने गरी भवन बनाउने योजना रहेको थियो । पछि उस्तै प्रकारका सेवाका प्रकृति भएका दुई कार्यालय जोडेर भवनको डिजाइन तयार पारिएको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले सोहीअनुसार काम अघि बढाउने योजना बनाएको भए पनि बहुवर्षीय कायम गर्ने विषय अर्थ मन्त्रालयबाट निर्णय नहुँदा काम कसरी बढाउने भन्ने नै अन्योल  सिर्जना भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार ३ अर्ब ६८ करोड रुपैयाँमा काम गर्ने गरी बहुवर्षीय आयाेजनाका रूपमा अघि बढाउन तयारी गरिएकामा केन्द्रबाट बहुवर्षीयका लागि स्वीकृत नहुँदा के गर्ने भन्ने अन्योल सिर्जना भएको छ । एकै वर्षमा निर्माणको काम सम्पन्न गर्न नसकिने हुनाले आफूहरूले बहुवर्षीय योजनामा राख्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको उनको भनाइ थियो ।

‘हामी तयारीमै थियौँ, बहुवर्षीयका लगि काम अघि बढाउने योजना थियो । तर बहुवर्षीयका लागि स्वीकृत नहुँदा के कसरी अघि बढ्ने अन्योल छ,’ कार्यालय प्रमुख थापाले भने, ‘ठुलो रूपमा काम अघि बढाउने भन्दा, सानो रकम पनि हराउँला भन्ने डर भइसक्यो ।’

नमुना सदरमुकाम निर्माणस्थलमा संघ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने गरी प्रारम्भिक गुरुयोजना तयार पारिएको थियो । साथै पुस्तकालय, सभाहल, बैंक, अतिथिगृह, आवासगृह, रंगशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायत संरचनासमेत निर्माण गर्ने योजना छ ।

यी संरचना निर्माणका लागि ४ वर्षपहिले योजना अघि सारिएको थियो । तर निर्माणस्थलमा कच्ची बाटो बनाउने कामबाहेक हालसम्म कुनै कार्य अघि बढ्न सकेको छैन ।