धमाधम कालाेपत्र गरिँदै मुग्लिन–पोखरा सडक

धमाधम कालाेपत्र गरिँदै मुग्लिन–पोखरा सडक

असारभित्रै आँबुखैरेनी खण्डकाे ७ किलाेमिटर पिच गर्ने लक्ष्य


तनहुँ ।

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै ७ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो ।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, ‘बरादीबाट डुम्रेतर्फको भागमा कालोपत्रको काम भइरहेको छ, यो आवमा ७ किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य हो ।’

उनका अनुसार उक्त खण्डमा यसअघि कालोपत्रका लागि परीक्षण गरिएकामा परीक्षण सफल भएपछि अहिले कालोपत्र नै गरिएको हो । अहिले दुई लेनमा मात्रै सडक कालोपत्र गर्ने काम भइरहेको पाण्डेले बताए । ‘सवारी साधनलाई आगमन सहज बनाउन एकातर्फमात्रै सडक कालोपत्र भइरहेको छ’, उनले भने ।

वैशाखमै कालोपत्र गर्ने तयारी गरिए पनि प्राविधिक कारणवश ढिलाइ भएको उक्त खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।

पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको सुवेदीको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।

जामुनेदेखि पोखरासम्मको पश्चिमखण्डको कामको गति भने सुस्त छ । निर्माण कम्पनीका कारणका यो खण्डमा काम सुस्त रहेको बताइएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । इन्जिनियर पाण्डेका अनुसार घरटहरा भत्काउन ८३ जनालाई पहिलो किस्ता बापतको रकम भुक्तानी गरिएको छ ।

घरटहरा हटाउनका लागि रु २२ करोड ४५ लाख मुआब्जा आवश्यक पर्नेमा रु १४ करोड ५० लाख भुक्तानी भइसकेको पाण्डेले बताए ।

पाण्डेका अनुसार हालसम्म चार सय ७२ घरटहरा भत्काइएको छ । त्रियासी जना लाभग्राहीले पहिलो किस्ता लगेर संरचना भत्काउन सुरु गरेका छन् । त्यस्तै पहिलो किस्ताका लागि रु दुई करोड रकम माग गर्दै निवेदन आएको छ । ‘निवेदन आए पनि अहिले भुक्तानीका लागि रकम नभएकाले केही समय भुक्तानी दिन सक्ने अवस्था छैन, रकम आउनेबित्तिकै उनीहरुलाई पनि भुक्तानी हुन्छ’, पाण्डेले भने ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकतालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस