१६ घन्टापछि खुल्याे अवरुद्ध बेनी–जोमसोम सडक

१६ घन्टापछि खुल्याे अवरुद्ध बेनी–जोमसोम सडक


काठमाडाैँ ।
बेनी–जोमसोम सडकमा १६ घन्टापछि  सवारी सञ्चालन भएको छ । सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुंग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो ।
मंगलबार राति करिब १० बजेदेखि अवरुद्ध बनेको सीधा यातायात आज दिउँसोदेखि सञ्चालन भएको अन्नपूर्ण–२ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिए  ।
उनका अनुसार, कल्भर्ट बगाएको ठाउँमा कालीगण्डकी करिडोर सडक आयोजनाले डोजर परिचालन गरेर अस्थायी रुपमा खोलामा सवारी वारपार हुने गरी मर्मत गरेपछि सडकमा यातायात सञ्चालन भएको हो ।
सडक अवरुद्ध बनेपछि बीच बाटोमै रोकिएका सवारी साधन सडक सञ्चालन भएसँगै आफ्नो गन्तव्यतर्फ लागेका छन् । गत जेठ ६ गते रातिको बाढीले भुरुंगतातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो ।
पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायी रूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । मंगलबार राति वर्षासँगै आएको बाढीले ह्युमपाइप र वरपरको सडक कटान गरेका थियो  ।
यसैबीच बाढीले भुरुङ तातोपानी बजारमा वितरण हुने खानेपानीको पाइप क्षतविक्षत बनाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ । करिब ८० घरधुरी रहेको तातोपानीमा खानेपानीको करिब ५०० मिटर बढी पाइपलाइन क्षति भएको छ ।
गाउँपालिकाले पाइप बगाएको ठाउँमा अर्को पाइपको बन्दोबस्त गर्ने गरी स्थानीयबासी खानेपानीको मर्मतमा जुटेका छन् । बाढीले तातोपानीबाट भुरुङ जाने सडकमा समेत क्षति पुर्‍याएको छ ।