स्वास्थ्य सुविधा विस्तार गर्दै आँबुखैरेनी

स्वास्थ्य सुविधा विस्तार गर्दै आँबुखैरेनी


तनहुँ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सुविधा विस्तार गर्दै लगेको छ । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन् ।

गाउँपालिकामा रहेको स्वास्थ्यचौकीलाई गत मंसिरदेखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले उक्त अस्पतालमा आँखा उपचार केन्द्रसमेत विस्तार गरेको छ ।

स्थानीय तहको निर्वाचनका बेला जनतामाझ जाँदा स्वास्थ्य क्षेत्रमा केही काम गर्छौँ भनेर प्रतिबद्धता गरेकाले सोही प्रतिबद्धता पूरा गर्न स्वास्थ्य सेवा विस्तार गर्दै लगिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय हो । स्वास्थ्य क्षेत्रलाई विस्तार गर्दै नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउन काम गर्छौँ भनेर लागिपरेका छौँ ।’

अध्यक्ष चुमानका अनुसार गाउँपालिकासँगै रहेको स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा विस्तार गरी सञ्चालन गरिएको छ । अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान भइरहेको छ ।

उनले भने, ‘एक/डेढ वर्ष पहिला भिडियो एक्सरे गर्नुपरे चितवन जानुपर्ने अवस्था थियो । निर्वाचनका बेला स्थानीय स्तरमा सुविधासम्पन्न स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता गरेका थियाँै । एक वर्षमा स्वास्थ्य चौकीलाई अस्पतालका रूपमा स्तरोन्नति गरी सेवा दिइरहेका छौँ ।’

अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले आफ्नै स्रोतमा एमडिजिपी चिकित्सक (विषयगत विधाका विशेषज्ञ चिकित्सक) नियुक्त गरेको छ । ‘एमजिडिपी डाक्टर गाउँपालिकाले राख्न सक्छ र भनेर खिस्सीटिउरी गर्थे । अहिले पालिकाको पहलमा अस्पतालले विशेषज्ञसहितको सेवा दिइरहेको छ,’ उनले भने ।

यहाँ सञ्चालित अस्पतालबाट बिरामी बाहिर लैजानपरे गाउँपालिकाले एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने गरेको उनले जानकारी दिए ।

अध्यक्ष चुमानले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाउँदै आवश्यक परे विकास बजेट घटाएर स्वास्थ्य क्षेत्रमा लगानी गरिने बताए । ‘हामी बरु भत्ता नलिउँला, तर स्थानीयलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छौँ,’ उनी भन्छन् ।

अहिले अस्पताल सञ्चालनका लागि केही रकम लिनुपरेको भन्दै निकट भविष्यमा अस्पतालबाट उपलब्ध हुने सेवालाई निःशुल्क बनाइने चुमानले बताए ।

गाउँपालिकाले निकट भविष्यमा शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरिरहेको अध्यक्ष चुमानले जानकारी दिए । उनका अनुसार सुत्केरी, एपेन्डिक्स, हर्निया र हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी भइरहेको छ ।

भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले केही दिनअघिदेखि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष चुमानले बताए । केन्द्र सञ्चालनमा आएसँगै आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ थियो ।

आँखाको उपचारका लागि आँबुखैरेनी गाउँपालिकासँगै छिमेकी जिल्ला गोरखा, बन्दिपुरलगायतका बासिन्दालाई भरतपुरसम्म जानुपर्ने बाध्यता हटेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । आँबुखैरेनीमा आँखा उपचार केन्द्र स्थापनापछि सबैलाई सहज भएको उनको भनाइ थियो ।

भरतपुर आँखा अस्पतालसँग गरिएको सम्झौताअनुसार आँखा केन्द्र स्थापनाका लागि आवश्यक दुई कोठे भवन गाउँपालिकाले उपलब्ध गराएको छ । केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षदेखि ५ वर्षसम्म वार्षिक ६ लाख रुपैयाँका दरले भरतपुर आँखा अस्पताललाई सहयोग गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा नेपाल नेत्रज्योति संघको नियमानुसार उपलब्ध गराउने सहमति भएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिए ।