बाँदरबाट खेती जाेगाउनै सास्ती, बाँदर धपाउन पालिकाले बजेट नै छुट्ट्यायाे

बाँदरबाट खेती जाेगाउनै सास्ती, बाँदर धपाउन पालिकाले बजेट नै छुट्ट्यायाे


तनहुँ ।
बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका ६ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो ।
ठुलो आवाज आउने भएकाले अन्य उपकरणको तुलनामा बाँदर धपाउनका लागि यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
पहिलो चरणमा अत्यधिक मात्रामा बाँदरले दुःख दिएर हैरान बनाएका क्षेत्रका किसानलाई प्राथमिकता दिँदै आएको गाउँपालिकाले जनाएको छ । बाँदरले क्षति नगर्ने किसिमका वैकल्पिक खेतीतर्फ अग्रसर बन्न गाउँपालिकाले प्रोत्साहन गर्दै आएको उनले बताए ।
खेतबारीमा लगाइएको अन्नबाली र तरकारी बाली नष्ट गर्न थालेपछि किसानले गाउँपालिकासँग बाँदर धपाउने उपकरण माग गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
कृषकका मागलाई सम्बोधन गर्न गाउँपालिका कार्यालयले १ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । कृषि ज्ञान केन्द्रले बाँदरले हैरान दिएका क्षेत्रमा वैकल्पिक खेतीका रूपमा बेसार र अदुवालगायत खेती लगाउन कृषकलाई आग्रह गरेको छ ।
बाँदरले हैरान बनाएपछि व्यास नगरपालिका–८ र १३ गरी २ वडामा करिब २०० रोपनी क्षेत्रफलमा परीक्षणका रूपमा व्यावसायिक तरिकाले बेसारखेती गर्न थालिएको छ ।
कार्यालयले २ वडाका लागि ७ लाख अनुदान प्रदान गरिसकेको वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । ‘हामीले पैसा दिएका छाैँ, कृषकले बिउबिजन र आवश्यक पर्ने औजार खरिद गरेका छन्,’ उनले भने ।