७ वर्ष कन्तबिजाेग झेलेपछि बनिसक्याे नख्खु-भैँसैपाटी सडक

७ वर्ष कन्तबिजाेग झेलेपछि बनिसक्याे नख्खु-भैँसैपाटी सडक

रासस
51
Shares

काठमाडौँ ।

वर्षौंदेखि अलपत्र अवस्थामा रहेको ललितपुरको नख्खु–भैँसेपाटी सडक निर्माण सम्पन्न भएको छ । सडकका केही भागमा थोरै काम बाँकी भए पनि सबैभन्दा समस्या रहेको नख्खु उकालोमा कालोपत्र सकिएको हो ।

सडकमा तल्लो प्याकेजको सबैभन्दा समस्या रहेका खण्डमा काम सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

मुख्य सडकमा कालोपत्रसँगै छेउमा आवश्यक संरचनाको काम सकिएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए ।

पाइप व्यवस्थापनको काम पनि भइसकेको उनले जानकारी दिए । उनले भने, ‘अप्ठ्यारो खालको काम सकिएको छ, अब एक–दुई ठाउँमा थोरै मात्रै गर्नुपर्ने छ ।’

सबै पक्षको ध्यान तानेको र आयोजनालाई पनि विभिन्न अवरोधले गर्दा सरासर काम गर्न नसकेका खण्डमा नख्खु–भैँसेपाटीको आवास गेटसम्मको खण्ड रहेको थियो ।

अहिले सो खण्डको सडक कालोपत्र भएपछि नागरिकलाई सडकमा आवतजावत गर्न सजिलो भएको उनले बताए ।

सोह्रखुट्टेमा थोरै काम बाँकी रहेको सूचना अधिकारी जोशीले जानकारी दिए । अहिले पर्खाल हाल्ने काम भइरहेको र त्यो सकिएपछि कालोपत्र हुने उनले जानकारी दिए ।

नख्खु उकालोमा कालोपत्र सकिएपछि नख्खु–बुङ्मति सडकमा मुख्य काम सकिएर ससाना काम मात्रै बाँकी रहेको उनले बताए ।

कुनैकुनै खण्डमा ‘ओभर ले’ गरिने उनले बताए । उनका अनुसार सोह्रखुट्टेमा छेउमा पर्खाल लगाएर कालोपत्र गर्न लागिएको छ । उनले भने, ‘यी थोरै काम सकिएपछि ठेक्का सम्पन्न हुनेछ ।’

विगतका वर्षमा प्रगति कम रहेको यो सडकमा पछिल्लो केही वर्षयता भने निर्माणले गति लिन थालेको थियो । नख्खु उकालोबाहेक अन्यत्र निर्माणको काम भइरहेको थियो ।

उकालोमा भने सडकमा बिच्छ्याइएको संरचनाका कारण निर्माणमा अवरोध भएको थियो । पछिल्लो वर्ष काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पाइप व्यवस्थित गरेर मात्रै सडक निर्माण गर्न खोज्दा ढिलाइ भएको थियो ।

ललितपुर आउने पानी यही बाटो ल्याउने हुँदा यो खण्डमा धेरै पुराना पाइप रहेका थिए । सयौँ वर्ष पुराना पाइप व्यवस्थित नगरी कालोपत्र गर्दा पुनःभत्कने समस्या हुँदा पहिले त्यसलाई व्यवस्थित गरिएको हो ।

नख्खु–भैँसेपाटी सडक निर्माणमा भएको ढिलाइमा सरकारले चासो देखाउँदै आएको छ । यसअघि मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पटकपटक स्थलगत निरीक्षण गरेका थिए ।

अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि दुई पटक सो सडकको निरीक्षण गरेका थिए । ५ किलोमिटर लम्बाइको सो सडक निर्माणको काम २०७३ असारदेखि सुरु भएको थियो ।

सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो ।

आशिष बिरुवा सिएम जेभीले ३.५ र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले १.५ किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो ।