भित्ताे काट्न विस्फोटक पदार्थ ल्याउन नसक्दा पुल निर्माण ठप्प

भित्ताे काट्न विस्फोटक पदार्थ ल्याउन नसक्दा पुल निर्माण ठप्प


चितवन ।

नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक पदार्थ ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको भित्तो फोर्न नसक्दा काम हुन नसकेको हो ।

भित्तो फोर्नका लागि विस्फोटक पदार्थ ल्याउन जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयल, परराष्ट्र मन्त्रालय हुँदै नेपालस्थित भारतीय राजदूतावासमा स्वीकृतिका लागि फाइल पठाइएको छ ।

नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार १ महिनाअघि नै अनुमतिका लागि फाइल दूतावास पुगेको भए पनि अनुमति पाइएको छैन । उनले भने, ‘भारत वा अन्य देशबाट विस्फोटक पदार्थ ल्याउन नो अब्जेक्सन लेटर भारतले दिनुपर्ने भएकाले फाइल दूतावास पुगेको छ ।’

सो सडकखण्डको तुइन खोलामा पुल निर्माणका लागि दुईपट्टि रहेका अग्ला पहाड काट्नुपर्ने बाध्यता थियो । योसँगै अन्य ३ वटा पुलको दुईतर्फका पहाड भत्काउने काम अघि बढाइएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाड भने भत्काउन कठिन भएपछि काम रोकिएको प्रमुख कार्कीले बताए ।

सडकमा सवारीसाधन बन्द गरेर लामो समय काम गर्न कठिन भएकाले सो ठाउँको पहाड विस्फोट गराउने निर्णय गरिएको थियो । उनले भने, ‘वर्षात्अघि अब विस्फोट गर्न सम्भव छैन । अनुमति लिएर असोजपछि काम गर्ने योजनामा छौंँ ।’

सो सडकमा रहेका १९ पुलमध्ये ४ वटा यसअघि नै निर्माण गरिएका थिए । ठेक्का लगाइएका १५ पुलमध्ये १४ वटा निर्माणाधीन छन् । तीमध्ये ३ वटा असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अन्य ८ वटा पुल असोजभित्रमा र ३ वटा मंसिरभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

तुइन खोलाको पुल भने भित्तो विस्फोट गराएपछि मात्रै काम सुरु गर्न सकिने भएको छ । काम थालेको ४–५ महिनामा सो पुल पनि निर्माण गर्न सकिने प्रमुख कार्कीले बताए । तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो कडा चट्टानको डाँडो थियो । डाँडाको आधा भाग काटिएको छ भने बाँकी कडा भाग विस्फोट गर्नुपर्ने भएको छ ।

आयोजनाका सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म छ ।

सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि समय १ वर्ष थप गरिएको हो । सो सडकका पुल अनक कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ती पुल निर्माणको लागत १ अर्ब २२ करोड रुपैयाँ हाराहारी छ ।

सो सडकमा यस अघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक ९ देखि ११ मिटर फराकिलो छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्छन् । पछिल्लो समय सडक फराकिलो बनाएसँगै पुल साँघुरा भएपछि निर्माण थालिएको हो ।