व्यावसायिक किसानलाई अनुदानमा उपकरण

व्यावसायिक किसानलाई अनुदानमा उपकरण


स्याङ्जा ।

कृषि र पशुपक्षीको व्यावसाय गर्दै आएका किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको छ । व्यवसायमा किसानलाई सहजता र ऊर्जा थप्न कृषि उपकरणहरू अनुदानमा वितरण गरिएको हो ।

स्याङ्जाको वालिङस्थित अकला नमुना साना किसान सहकारीले आफ्ना सेयर सदस्यहरूलाई व्यावसायिकतामा मद्दत पुर्‍याउन ५० प्रतिशत अनुदानमा कृषि उपकरण प्रदान गरको हो ।

सहकारीले किसानलाई हाते ट्याक्टर, कुटानीपिसानी गर्ने मिल, घाँस काट्ने मेसिन, स्पेयर, क्यारेटलगायत कृषि उपकरण वितरण गरेको जनाएको छ । समूह बनाएर कृषि र पशुपक्षी पालनमा लगानी र प्राविधिक सहयोग गर्दै आएको सहकारीले किसानलाई अनुदानमा उपकरण वितरण गर्न थालेपछि किसान हर्षित भएको सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए ।

‘सेयर सदस्यलाई कृषि र पशुपक्षीमा व्यवसायीकरण गराउने अभियानमा छौँ,’ अध्यक्ष अर्यालले भने, ‘उत्पादन र बजारीकरणमा लागेका किसानले अनुदानमा उपकरण पाउँछन् ।’

जसले किसानलाई अझै आफ्नो उत्पादन बढाउन मद्दत गर्ने उनले बताए । व्यक्तिगतभन्दा पनि समूहगत रूपमा कृषि र पशुपालनमा सहकारीले जोड दिँदै आएको अध्यक्ष अर्यालको भनाइ छ ।

‘हामीले वितरण गरेका उपकरण सदुपयोग भएको छ वा छैन अनुगमन पनि गर्छौं,’ उनले भने, ‘सामग्रीको सदुपयोग नभएको ठानिएमा सहकारीले पुन फिर्ता ल्याउँछ ।’ फिर्ता ल्याइएको सामाग्री हामीले अर्को समहुलाई वितरण गर्ने छौं उनले भने ।

किसानहरूको मागका आधारमा सहकारीले कृषि उपकरण अनुदानमा दिने गरेको बताइएको छ । आफ्ना सेयर सदस्यहरूलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान अनुसार उनीहरूलाई गाईभैँसी, बाख्रा, बंगुर, कुखुरा पाल्न सहज रूपमा कर्जाको समेत व्यवस्थापन मिलाइएको सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिइन् । किसानको माग र आवश्यकता हेरेर सामग्री दिने गरेको उनको भनाइ छ ।

उनका अनुसार ३ ओटा हाते ट्याक्टर, १० ओटा स्पेयर, २ ओटा तराजु, १० ओटा क्यारेट, १ घाँस काट्ने मेसिन, कुटानी पिसानी गर्ने मिल १ थानलगायत सामग्री अनुदानमा वितरण गरेको बताइन् ।